Websoft University

www.radiomakalu.com || 021-522512


कुष्टरोगीलाई उपचार गर्न नागरिकता बाधक !



जाजरकोट, भदौ ११ गते  । सबैको इच्छा गाउँघर, साथीभाइ र इष्टमित्रसँग मिलेर बस्ने र सुखका साथ जिन्दगी बिताउने भन्ने हुन्छ । मिठो, मसिनो खाना अनि राम्रो बन्न कसलाई पो इच्छा हुदैँन र ? तर यहाँको एक दुर्गम गाउँको एक परिवार कुष्टरोग लागेपछि विगत ६ वर्षदेखि जङ्गलमा बस्दै आएका छन् ।

त्यहाँ उनीहरु जङ्गलमा रहरले नभइ बाध्यता, समाजको छ्या, छ्या अनि दुरदुरका कारण जङ्गलमा बस्न बाध्य भएको हो । जिल्लाको अति विकट नायकडावा गाविस– ८ तासीका वीरबहादुर कामीको परिवार कुष्टरोग लागेपछि जङ्गलमा बस्न बाध्य भएका हुन् ।

वीरबहादुर आफू करिब ५० वर्ष पुगेको बताउँछन् । वीरबहादुर श्रीमतीको साथमा जङ्गलमा बस्दै आएका छन् । कुष्ठरोगी परिवारसँग सम्पत्तिको रुपमा दुुई कुखुरा छन् । यो रोगीपरिवारसँग बिहान÷बेलुका छाक टार्न नै मुस्किल छ । खरको छाप्रोभित्र पानी चुहिँदा केही भएका कपडा भिजेर सुत्न नमिल्ने अवस्थामा पुग्ने वीरबहादुरले गुनासो गर्नुभयो । आफूलाई लागेको रोग कसरी निको पार्ने भनेर वीरबहादुरका दम्पती निकै चिन्तामा छन् ।

तीन वर्षअघि भारतबाट एक गाउँलेले ल्याएर दिएको कपडा लगाएर दिनरात काटेको वीरबहादुरको भनाइ छ । जङ्गलमा बस्दा सर्प, बिच्छी, र अन्य जङ्गली जनावरले सताउने गरेको छ । ५० वर्षीय वीरबहादुर र उहाँकी श्रीमतीसँग नेपाली नागरिकताको प्रमाणपत्र समेत नभएको पाइएको छ । उपचार गर्नका लागि आधिकारिक प्रमाणपत्र आवश्यकपर्ने भएका कारण विक परिवारसँग त्यो नहुँदा थप समस्या परेको स्वास्थ्यचौकी नायकवाडाका इन्चार्ज गणेश खड्काले बताउनुभयो ।

वीरबहादुरलाई कुष्टरोग लाग्नुभन्दा अगाडि ज्यामी, मजदुरी गरेर श्रीमान्, श्रीमती पालिने गरेको स्थानीयवासी दीपक महताराले बताउनुभयो । विक परिवारलाई लागेको कुष्टरोग अन्य गाउँमा सर्छ भन्ने गलत मान्यताका कारण उहाँहरुलाई गाउँमा जान नदिएको स्थानीयवासीले बताएका छन् ।
सुरुमा उपचारका लागि धामी, झाक्री गरेको तर केही नलागेपछि जङ्गलमा बस्न बाध्य भएको वीरबहादुरले बताए । कुष्टरोग लागेपछि कोर लागेको छ, यसका सन्तान या यसले पाप गरेका कारण हो भन्ने अन्धविश्वासका कारण आफूहरु थप मर्कामा परेको विक परिवारको दुखेसो छ ।

श्रीमान् र श्रीमती दुबैजना कुष्टरोगका कारण थला परेको कारण आफूहरूलाई कसैले सहयोग नगर्दा रोग भन्दा पनि खाना नपाएर कुन दिन प्राण जान्छ थाहा छैन वीरबहादुरले रुदै रासससँग भने । कुनै नयाँ मानिस गाउँमा गएमा आफूलाई सहयोग गर्छन् कि भनेर आश लाग्ने गरेको दम्पतीको भनाइ छ । उनीहरूका कुनै सन्तान नभएका कारण आफ्नो सहारा कोही नभएको वीरबहादुरले बताए । घरबाट छुट्टिएको २५ वर्ष पुगेको अहिलेसम्म जेठा, कान्छा भाइ बिरामीको अवस्था कस्तो छ भनेर बुझ्नसम्म नआएको उनले गुनासो गरे ।

सङ्घ संस्थामा काम गर्ने, शिक्षक आदिले कहिले काहीँ केही सहयोग गर्ने गरेको उनी बताउँछन् ।
आफूसँग उपचार गर्ने पैसा छैन् । ‘धन नभै वैहिमानी हुनु कर्म बिग्रे जोखी’ भन्ने उखान जस्तै आफ्नो जिन्दगी भएको वीरबहादुरले भने । नायकवाडा गाविसमा थुपै्र कुष्टरोगी भए पनि खुल्न नसकेको पाइएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget