Websoft University

www.radiomakalu.com || 021-522512


कांग्रेस नेता गोपालमान श्रेष्ठको दाबी : अबको सरकारले ओलीको जस्तो जम्बो मन्त्रिमण्डल बनाउँदैन



नयाँ सरकार बनाउने कांग्रेस–माओवादीलगायत दलको कसरतसँगै सरकारको आकार, मन्त्री बनाउने मापदण्ड र दायित्वको के हुन्छन् भन्ने विषयमा केन्द्रित रहेर रातोपाटीका लागि लोकराज जैसीले कांग्रेस नेता गोपालमान श्रेष्ठसँग गरेको कुराकानीको अंश ।

सरकार गठनबारे नयाँ छलफल

माओवादी केन्द्र अध्यक्षको नेतृत्वमा हामी सरकारमा जाँदै छौँ । हाम्रो गठबन्धनले मुलुकको अवस्थालाई सुधार गर्दै, शान्तिप्रक्रियामा सुधार गर्दै, १२ बुुँदे सहमतिका आधारमा बाँकी रहेका काम–कुरा पालना गर्दै, राष्ट्रको विकास निर्माण र जनताको आवश्यकतामा केन्द्रित भएर काम गर्छ । हामी यो संविधानलाई अक्षरशः लागू गराउन चाहन्छाँै । संविधानमा भएका कमीकमजोरीको संशोधन गर्दै, मधेस, अल्पसंख्यक, जनजाति, दलित, महिलाको समस्या सम्बोधन गर्नेगरी हामी संविधानलाई सबैको स्वीकार्य बनाउने सोचमा छौँ । आन्दोलनरत पक्ष र मधेसका मागमा हामी सकारात्मक छौँ, उहाँहरुलाई पनि हामी सरकार निर्माणमा सहभागी गराउनछौँ । उहाँहरु सबैको समस्या समाधान गर्दै सबै दलहरु सहभागी हुनेगरी पहिलो चरणमा स्थानीय निकाय चुनाव गराउने त्यसपछि प्रदेश र केन्द्रको चुनाव गराउने हामीबीच समझदारी भएको छ । सबैको साथ, समर्थन जुटाउँदै हामी मुलुकलाई समृद्धितिर अघि बढाउने लक्ष्यसाथ निरन्तर छलफलमा छौँ ।

स्थानीय निकाय चुनाव गराउनका लागि पहिले मधेसवादी दलले उठाउँदै आएका माग सम्बोधन गरेर, हाम्रो गठबन्धन अझै बलियो बनाउन उनीहरुलाई सरकारमा ल्याएर अघि बढ्ने भनिरहेका छौँ ।

मधेसी दलहरु पनि सरकारमा आउँनुपर्छ

हामीले मधेसवादी दलका मागबारे उहाँहरुसँग छलफल गरिरहेका छौँ । उहाँहरु अहिले नै सरकारमा आएर आफ्ना माग पूरा गराउने दिशामा अघि बढेको भए हुन्थ्यो भन्ने हामीलाई लागेको थियो तर उहाँहरु पहिले माग पूरा गर्नुपर्ने त्यसपछि मात्र सरकारमा सहभागी हुने अडानमा हुनुहुन्छ ।

हामी मधेसका समस्या र उहाँहरुले उठाउनुभएका माग सम्बोधन गर्ने दिशामा केन्द्रित छौँ । हामीलाई विश्वास छ कि उहाँहरु सरकारमा आउनुहुन्छ र सँगै मिलेर स्थानीय निकाय चुनाव सफल पार्छौं ।

मधेसवादी दलबाट विश्वासको कमी

त्यसो होइन, हामीले उहाँहरुको माग संविधान संशोधन गरेरै भए पनि सम्बोधन गर्छौं भनेका छौँ । हामीले उहाँहरुसँग यो विषयमा धेरै छलफल गरेका छौँ । हामीले आफ्नो ठाउँबाट पूरा विश्वास दिलाएका छौँ, अझै पनि हामी उहाँहरुलाई शंका नगर्न आग्रह गर्छौं ।

मधेसी मोर्चाभित्रका कतिपय साथी हामीबीचमा भएको छलफलका आधारमा विश्वास गरेर सरकारमा आउन चाहन्छन् भने कतिपय साथीहरु विगतमा धोका भएको भन्दै पहिले माग पूरा गराउने त्यसपछि सरकारमा जाने कुरा गरिरहनुभएको छ । हामीले उहाँहरुको धेरै माग सकारात्मक रुपमा लिएका छौँ ।

समानुपातिक, समावेशी, जनसंख्या र भूगोलका आधारमा पुनःसंरचना गर्ने भन्ने विषयमा उहाँहरुले उठाउँदै आएका धेरै कुरा लागू भइसकेका छन् । सीमांकन र अरु केही विषयमा उहाँहरुका अलिकति फरकमत रहेका छन्, त्यो विषयमा पनि बसेर समाधान खोजौँ हामीले भनेका छौँ । एमालेलाई समेत सहमतमा ल्याएर उहाँहरुका माग संविधान संशोधन गरेर अघि बढ्ने हाम्रो प्रयत्न रहन्छ ।

गठबन्धनमा को–को

हिजो अविश्वासको प्रस्तावमा हामीलाई जुन–जुन पार्टीले सहयोग गर्यो, त्यहीमध्ये १३ पार्टीले सरकार गठनमा सहयोग गर्नुहुन्छ । पछिल्लो चरणमा पशुपतिशमशेरको राप्रपा र विजय गच्छदारको पार्टी पनि गठबन्धनकै पक्षमा आएका छन्, यसका आधारमा प्रधानमन्त्रीको चुनाव नजित्ने भन्ने प्रश्नै रहँदैन, अत्यधिक बहुमतले जित्छौँ, यो निश्चित हो । मन्त्रालय गठन प्रक्रिया प्रधानमन्त्रीको नियुक्तिपछि सुरू हुन्छ ।

मन्त्रिमण्डलको आकार

हामीले सानो आकारको उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री नबनाउने भनेका छौँ । यस विषयमा सरकारमा आउने पार्टीको संख्या र उहाँहरुको धारणा बुझेर अघि बढ्छौँ । हामीले ओली सरकारको जस्तो जम्बो मन्त्रिमण्डल होइन, चुस्त र जनताको काम गर्ने सशक्त टिम बनाउने सोच बनाएका छाँै । काम गर्न सक्ने मानिस सरकारमा जान्छन्, हामीले धेरै काम गर्नुपर्नेछ ।

ओलीजीले ६ जना उपप्रधानमन्त्री र धेरै मन्त्री बनाउनुभयो, कामको समीक्षा गर्दा खासै उल्लेख्य प्रगति भएको देखिँदैन । हामी पुरानो संख्या घटाएर जाने सोचमा छौँ । उपप्रधानमन्त्री बढीमा तीन र मन्त्रालयको संख्या पनि घटाएर सानो मन्त्रिमण्डल बनाउने भनेका छौँ ।

मन्त्री बनाउने कांग्रेसको मापडण्ड

कांग्रेसले खासगरी सरकारमा काम गर्न सक्ने सक्षम भएको नेतृत्वलाई पहिलो प्राथमिकतामा राख्छ । पुरानो अनुहार, नयाँ अनुहार सबैलाई मिलाएर पठाउँछ । पार्टीको सिनियर नेताकै नेतृत्वमा हामी सरकारमा जान्छाँै, यसरी सरकारमा जाँदा सबैलाई सहज र मान्य हुन्छ भन्ने मलाई लाग्छ ।

सरकारमा कोही व्यक्ति लगातार सहभागी हुने र कोही आजसम्म सरकारमा सहभागी हुने मौकै नपाउने पुरानो प्रवृत्ति कांग्रेसले अत्य गर्छ । नयाँ, क्षमतावान् र काम गर्ने पार्टीका नेतामध्येबाटै छलफल गरेर सरकारमा पठाउँछ ।

खागरी, २०६४ पछि मन्त्री नभएकालाई कांग्रेसले अब बन्ने सरकारको मन्त्रीका लागि प्राथमिकतामा राख्छ । यो नै सबैभन्दा उत्तम मापदण्ड पनि हो । त्यसभित्र पनि उहाँहरुको दक्षता र क्षमता हेरेर कसैलाई सरकारमा ल्याउनैपर्ने देखिएमा हामी छलफल गरेर सरकारमा पठाउँछौँ ।

अहिलेसम्म सरकारमा जानेको सूची

हामी सरकार गठनकै बहस, छलफलमा छौँ । पहिले प्रधानमन्त्री नियुक्ति होस् । हामी त्यसपछि पार्टीको बैठक बसेर आधिकारिक निर्णय गर्छांै । मन्त्री बन्ने मापदण्ड तोकेर योग्य मानिसलाई सरकारमा पठाउँछौँ । अहिले सरकारमा क–कसलाई पठाउने भनेर छलफल भइसकेको छैन । बाहिर आएका कुरा पनि आधिकारिक होइनन् ।

तर, प्रधानमन्त्री नियुक्त भएलगत्तै हामीले पहिलो चरणमा मन्त्रिमण्डल बनाउँछौँ । त्यसले जनताका दैनिक कामकाजलाई निरन्तरता दिन्छ । बाँकी मन्त्रालयका विषयमा छलफल गरेर त्यहीअनुसार हाम्रो भागमा पर्ने मन्त्रालय र त्यसको नेतृत्व गर्न सक्ने नेता रोजेर पार्टीले सरकारमा पठाउँछ ।

पहिलो चरणको मन्त्रिमण्डलमा सहभागिता

यो विषयमा पनि आधिकारिक निर्णय भएको छैन । यद्यपि, पहिलो चरणमा सरकारमा सहभागी हुनेको छनोट पार्टी नेतृत्वले गर्छ । पार्टी नेतृत्वले आधार र विधिमा रहेर केही संख्यामा पार्टीबाट पहिलो चरणको मन्त्रिमण्डलका लागि नाम पठाउँछ । त्यो सूचीमा जो परे पनि सरकारमा नेतृत्व गर्न सक्ने र क्षमतावान् नेता पर्नुहुन्छ ।

हामीले सरकारमा पहिलो चरणमा गृहलगायत महत्वपूर्ण मन्त्रालय सम्हाल्ने मन्त्री पठाउनुपर्छ भनेका छौँ । पार्टीबाट उपप्रधानमन्त्रीको नेतृत्वमा अन्य मन्त्रीलाई सरकारमा पठाउनुपर्छ भनेका छाँै । त्यसमा को पर्छ पार्टीले निर्णय गर्ला ।

निर्णय हुन बाँकी

कसको नेतृत्वमा जाने भन्ने पार्टीले त्यस्तो कुनै निर्णय गरेको छैन । बाहिर के–के कुरा आउँछन् त्यो सबै सत्य नहुन सक्छ । हामीले यतिबेला पार्टीले योग्य, क्षमतावान् र सरकारमा २०६४ पछि सहभागी हुन नपाएकालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्दै आएका छौँ । यही मापदण्डमा रहेर सरकारमा जाने कुरा निश्चित हो ।

मेरो दाबेदारी

मैले कांग्रेसमा लामो समयसम्म काम गरेको छु । गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपालदेखि अन्य पार्टीका नेतृत्वको हाराहारीमै बसेर काम गरेको छु । इतिहासका ठुल्ठूला संर्घषमा म जहिले पनि अग्रपंक्तिमा रहेर काम गरेँ । शाही सत्ताविरूद्धको संघर्ष होस् चाहे गणतन्त्रको मैले त्यहाँ पनि पार्टीमै रहेर काम गरें ।
माओवादीको दसवर्षे सशस्त्र जनयुद्ध अन्त्य गर्दै शान्तिप्रक्रियामा ल्याउने काममा पनि पार्टीले दिएको जिम्मेवारीमा रहेर मैले महत्वपूर्ण भूमिका निर्वाह गरेको छु । तत्कालीन अवस्थामा सात दल र माओवादीबीच भएको १२ बुँदे समझदारीदेखि शान्तिप्रक्रियामा ल्याउने काममा मेरो भूमिका रहेको सर्वविदितै छ ।

म पहिलोपटक सरकारमा जाने होइन, पहिले पनि पार्टीले मेरो क्षमताको कदर गर्दै सरकारमा पठाएको थियो । मैले त्यतिबेला पनि आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा सम्पन्न गरेको थिएँ ।

पार्टीले गरेको निर्णयलाई हामी स्वीकार गर्छौं । यदि पार्टीले मलाई सरकारको जिम्मेवारीमा पठाउने निर्णय ग¥यो भने मैले फेरि पनि देश र जनताका लागि महत्वपूर्ण काम गर्नेछु । मलाई उपप्रधानमन्त्री, मन्त्रीमात्र होइन, जिम्मेवारी दिएको खण्डमा ओलीजीले भन्दा राम्ररी देश चलाउन सक्छु भन्ने लाग्छ । पार्टी जीवनको लामो अनुभव र सरकारमा गएर काम गरेको हुनाले मलाई जिम्मेवारी पूरा गर्न राम्ररी आउँछ भन्ने लागेको छ ।

मन्त्रीको प्रमुख दायित्व

मुलुक पीडामा छ । वर्षात्को मौसम दिनहुँ घरबार डुबानमा परेका, भौतिक र केही मानवीय क्षतिसमेत भएका खबर आइरहेका छन् । सरकारले त्यो विषयमा तत्काल गर्न सक्ने कामको अध्ययन गरेर प्रभावकारी कदम चाल्नुपर्छ । यतिबेला बाढीपहिरो र डुबानको रोकथाम गर्न नसके पनि जनताको जिउधनको सुरक्षा र सुरक्षित बसोबासमा सरकार लाग्नुपर्छ । तत्काल उनीहरुको खाने, बस्ने र स्वास्थ्यमा ध्यान दिनुपर्छ ।

त्यसैगरी भूकम्पपीडित सबैभन्दा पीडामा छन् । सरकारले उनीहरुका लागि राहत, अनुदान दिनेदेखि बसोबास व्यवस्थापनसँग सम्बन्धित काममा सहयोग गर्नुपर्छ ।

संविधान कार्यान्वयन गर्दै देशमा स्थायी शान्तिको वातावरण निर्माणमा समेत सरकारले प्रभावकारी कदम चाल्नुपर्ने हुन्छ । सरकारमा सहभागी भएका र बाहिर बस्न चाहने सबै दलसँग सल्लाह लिएर राष्ट्रियताको पक्षमा काम गर्नुपर्छ ।

राज्यको पुनःसंरचना र स्थानीय निकाय निर्वाचनमा सबै तह र तप्काका समुदायलाई समेटेर सम्पन्न गर्नुपर्छ । सबै राजनीतिक दलबीच आपसी सहयोग गर्ने, मिलेर राष्ट्रनिर्माणमा लाग्ने वातावरण बनाउन जरूरी हुन्छ ।

त्यसैगरी बाह्य मुलुकसँगको सबैखाले सम्बन्ध सुदृढ गर्दै मुलुकको सीमा सुरक्षादेखि व्यापारिक विकास, निर्माणमा सरकारको ध्यान केन्द्रित हुनुपर्छ । यिनै काम, कर्तीय र दायित्व बन्ने नयाँ सरकार र मन्त्रीले वहन गर्नुपर्छ भन्ने लाग्छ ।

नयाँ सरकारका चुनौती

सरकारसँग चुनौती त हुन्छन् नै । तर, सरकार चुनौती सामना गर्दै अघि बढ्नुपर्छ । सरकार सञ्चालन गर्नै चुनौती छैनन् तर काम कार्यलाई प्रभावकारी बनाउन र सरकार बाहिर बसेका दललाई सहमतिमा ल्याएर अघि बढ्ने चुनौती हुन सक्छन् । जनताको पक्षमा काम गर्दा सरकारले कुनै प्रकारको चुनौती झेल्नुपर्दैन, बरू सबैतिरबाट सहयोग आउँछ भन्ने मलाई लाग्छ ।- रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget