काठमाडौं, साउन १२ गते। नयाँ सरकार गठनको तयारीमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आगामी फागुन-चैतभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाउने समझदारी गरेका छन् ।
सिंहदरबारमा बसेको कांग्रेस र माओवादी शीर्ष नेताहरुको बैठकमा स्थानीय तहको चुनावबारे छलफल भएको थियो । नयाँ सरकार गठन लगत्तै आगामी फागुन-चैतभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाउने समझदारी भएको एक शीर्ष नेताले अनलाइनखबरलाई बताएका छन् ।केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले मंसिरमा स्थानीय निकायको चुनाव गर्ने प्रस्ताव गरेको थियो ।
तर, कांग्रेस र माओवादी अहिलकै संरचनामा स्थानीय निकायको चुनाव गर्ने प्रस्तावको विपक्षमा उभिएका छन् । दुबै दलले संविधान अनुसार स्थानीय तह गठन भएपछि मात्र चुनाव गर्ने मत राख्दै आएका थिए ।
अब ओली सरकार कामचलाउ भइसकेको छ । र, कांग्रेस र माओवादीबीच भएको समझदारीअनुसार केही दिनमा प्रचण्ड प्रधानमन्त्री बन्ने छन् । नयाँ सरकार गठनको तयारीमा रहेका कांग्रेस र माओवादीले संविधान अनुसार स्थानीय तहको पुनःसंरचना गरेर मात्र चुनाव गर्ने समझदारी गरेका छन् ।
सीमांकन बैज्ञानिक र व्यवहारिक हुनु पर्नेमा जोड
स्थानीय तहको पुनःसंरचनाका लागि बनेको आयोगले ५६५ स्थानीय तहको प्रस्ताव गरेको छ । र, यसमा कांग्रेसको असन्तुष्टि छ ।
बैठकमा यसबारे पनि छलफल भएको थियो । बैठकमा स्थानीय तहको पुनःसंरचनालाई बैज्ञानिक र व्यवहारिक बनाउन पहलबारे छलफल भएको कांग्रेस नेता विमलेन्द्र निधिले बताए ।
स्रोतका अनुसार माओवादी र कांग्रेसबीच यसबारे एमालेसहितका दलहरुसँग छलफल गर्ने र साझा राय बनाएर आयोगलाई ‘सहयोग’ गर्ने सहमति भएको छ ।-अनलाइनखबरबाट

Post a Comment