Websoft University

www.radiomakalu.com || 021-522512


अविश्वास प्रस्ताव एकजुट भएर सामना गरिने

काठमाडौँ, साउन ५ गते । नेकपा (एमाले)ले अविश्वास प्रस्तावलाई संसदीय परम्परा तथा संवैधानिक प्रावधानका आधारमा सामना गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलबार करिब चार घण्टा बसेको एमाले स्थायी कमिटीको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकले लोकतान्त्रिक मूल्यमान्यता र परिपाटी एवं संविधानले निर्दिष्ट गरेको व्यवस्था अनुरूप आउने जुनसुकै परिणामलाई सहजताका साथ स्वीकार गर्ने निर्णय गरेको छ ।
एमालेले व्यवस्थापिका संसद्लाई राजनीतिक ध्रुवीकरणको थलो नबनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार अविश्वास प्रस्तावलाई पार्टीले एकताबद्ध भएर सामना गर्नेछ । “अहिलेको राजनीतिक परिस्थिति सिर्जना नभएको भए राम्रो हुन्थ्यो, समस्या आइसक्यो अब फेस गर्नुको विकल्प छैन” भन्ने विषयमा बैठक केन्द्रित भएको उहाँले जानकारी दिनुभयो ।
एमाले प्रचार विभाग प्रमुख तथा पार्टी सचिव योगेश भट्टराईले दिएको जानकारीअनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा गम्भीर छलफल भएको छ । स्थायी कमिटीका करिब सबै सदस्यले बैठकमा धारणा राख्नुभएको थियो ।
बैठकमा सरकारले अगाडि सारेको निर्वाचन कार्यतालिकाको कार्यान्वयन, उत्पन्न समस्याको संविधानसम्मत समाधान, बजेटको निरन्तरता र राष्ट्रिय सहमतिका लागि सदैव पार्टी प्रतिबद्ध रहने विषयमा सबै नेताको समान धारणा आएको प्रमुख भट्टराईले बताउनुभयो । बैठकपछि उहाँले जारी गर्नुभएको विज्ञप्तिमा पनि विद्यमान परिस्थितिको पार्टीले एक भएर सामना गर्ने कुरा उल्ेलख छ ।
त्यस्तै पार्टी कार्यालय सचिव तथा नेता कृष्णगोपाल श्रेष्ठका अनुसार बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध आएको अविश्वास प्रस्तावबारे जवाफ माग्ने बताउनुभएको छ । “मैले सरकारमा रहँदासम्म देश र जनताको विरुद्धमा के काम गरेँ ? त्यस्तो के अपराध गरेँ जो मेरोविरुद्ध अविश्वास प्रस्ताव आइलाग्यो, त्यसको जवाफ संसद् बैठकमा खोज्छु”, प्रधानमन्त्रीले बैठकमा बोल्नुभएको नेता श्रेष्ठले बताउनुभयो ।
अविश्वास प्रस्ताव संसद् सचिवालयमा दर्ता भए पनि अहिले सरकार कामचलाउ नभएको जिकिर गर्दै व्यवस्थापिका संसद् बैठकबाट बहुमत सदस्यले सरकारको विरुद्धमा मतदान गरेमात्र सरकार कामचलाउ हुने प्रधानमन्त्री ओली तथा वरिष्ठ नेताहरूले बैठकमा धारणा राख्नुभएको थियो ।
आफ्नो लागि मुलुकभन्दा सत्ता प्रमुख विषय नभएको ओलीले बैठकमा बताउनुभएको नेता श्रेष्ठले जानकारी दिनुभयो ।
व्यवस्थापिका संसद्बाट ३३८ मतले निर्वाचित भएर यो सरकार बनेको हो, सरकार गठन त भयो तर निस्कने बाटो संविधानमा स्पष्ट नभएको उहाँले बताउनुभयो । नेता श्रेष्ठका अनुसार “जुन ढोकाबाट म प्रधानमन्त्री भएँ, त्यो ढोकाबाट निस्कने बाटो छैन, झ्यालबाट हामफाल्ने कुरा आएन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “संविधानले जुन दिन निस्कने बाटो बनाउँछ, म सहज रूपमा निस्कन तयार छु । ”
अर्को सरकार गठनको बाटो र विधि प्रस्ट नभएकाले त्यसलाई प्रस्ट गरेरमात्र अगाडि बढ्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले संसद्मा प्रस्तुत आर्थिक विधेयकलाई पारितका लागि पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको थियो ।
वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमको नाम जोडेर सरकारसम्बन्धी विभिन्न सञ्चारमाध्यममा आएका समाचारका विषयमा समेत बैठकमा छलफल भएको थियो । संसद्मा बहुमत सदस्यले सरकारको विपक्षमा मतदान गरे सरकार स्वतः अल्पमतमा पर्ने र त्यस्तो अवस्थामा प्रधानमन्त्रीले पद छाड्ने राय ठीक रहेको प्रधानमन्त्रीले धारणा राख्नुभएको थियो । तर, त्यसका लागि संवैधानिक व्यवस्था सच्याउनुपर्ने बैठकमा धेरै सदस्यको भनाइ थियो ।
बैठकमा स्थायी कमिटीका सदस्यहरू भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डललगायतले पार्टी एकताबद्ध भएर प्रतिपक्षीको सामना गर्ने धारणा राख्नुभएको थियो । “प्रतिपक्षीहरू कुन रूपमा आउँछन्, हामीले त्यही रूपमा प्रतिवाद गर्ने हो”, बैठकमा सबै नेताको समान धारणा आएको नेता श्रेष्ठले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget