देउवासँग प्रचण्डले गरे अर्को 'भद्र सहमति'
काठमाडौं, असार २९ गते । केपी ओलीले भद्र सहमति नमानेको गुनासो गरिरहेका माओवादी अध्यक्ष प्रचण्डले अन्ततः कांग्रेस सभापति शेरबहादुर देउवासँग अर्को ‘भद्र सहमति’ गरेका छन् । यस्तो भद्र सहमतिको खुलासा बुधबार कांग्रेसको बैठकमा नेताहरुले गरेका छन् ।
नयाँ बानेश्वरमा बसेको बैठकमा कांग्रेस नेताहरुले स्थानीय चुनावपछि प्रचण्डले शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भद्र सहमति भएको पार्टी बैठकमा ब्रिफिङ गरेका हुन् ।बैठकमा कांग्रेस नेता विमलेन्द्र निधीले माओवादी नेताहरुसँग सत्ता हस्तान्तरणबारे भएको ‘भद्र सहमति’बारे पनि जानकारी गराए । निधीले बैठकमा दिएको जानकारी अनुसार प्रचण्डले ९ महिना सरकारको नेतृत्व गर्ने र त्यसपछि देउवालाई सत्ता हस्तान्तरण गर्ने अलिखित समझदारी भएको छ ।
बैठकपछि कांग्रेसका एक नेताले अनलाइनखबरसँग भने, ‘स्थानीय चुनाव प्रचण्डको नेतृत्वमा गर्ने र प्रदेश एवं केन्द्रको चुनाव शेरबहादुर देउवाको नेतृत्वमा गर्ने समझदारी भएको बि्रफिङ भएको छ ।’
प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अनुमोदन
यसैवीच कांग्रेस केन्द्रीय कार्य समितिको बुधबार बसेको बैठकले प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।
बैठकमा कांग्रेस नेताले पार्टी सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको सातबुँदे सहमतिबारे जानकारी गराएका थिए, जुन सार्वजनिक गर्नुअघि नै मंगलबार चुहिएको थियो ।
माओवादीसँग भएको सहमतिलाई बैठकले अनुमोदन गरेको कांग्रेस नेता अर्जुनरसिंह केसीले बताए । उनले माओवादीसँग सात बुँदे सहमतिका अतिरिक्त केही अलिखित समझदारीसमेत भएको बताए ।
यस्तो भद्र सहमतिमा प्रचण्डले स्थानीय चुनाव गराउने र अरु दुईवटा चुनाव देउवाले गराउने भन्ने छ ।-अनलाइनखबरबाट

Post a Comment