
काठमाडौं , असार २४ गते । राजधानीको सतुङ्गलमा करिब १५ वर्षदेखि सञ्चालन हुँदै आएको मोज मिट सेन्टरले सामान्य मापदण्ड पुरा नगरेको फेला परेको छ । आपूर्ति मन्त्री गणेशमान पुनको नेतृत्वमा गएको विशेष अनुगमनका क्रममा यस्तो फेला परेको हो ।

ढक तराजु नापतौल विभागमा दर्ता नगरेको, बधशाला अत्यन्तै फोहर रहेको र बधशालामा स्याउँस्याउँती किरा परेको अनुगमनका क्रममा भेटिएको छ ।
आपूर्ति मन्त्री गणेशमान पुनले बधशालालाई तत्काल शिल गरेर कडा भन्दा भन्दा कडा कारबाही गर्न निर्देशन दिएका छन् ।

‘यो बधशालामा हदैसम्मको लापरवाही देखियो, यस्तो मासु खाँदा जनताको स्वास्थ्य कस्तो भएको होला ?’ मन्त्री पुनले भने ‘त्यसैले यो बधशाला तत्काल शिल गर्न निर्देशन दिएको छु ।’
मन्त्री पुन निर्देशन दिएसँगै मन्त्रिपरिषदको बैठकमा फर्किए ।


बधशाला सफा गरिसकेपछि शिलबन्दी गरेर टोली र्फकने आपूर्ति व्यवस्थापन विभागले जनाएको छ । यो बधशालाले दैनिक १०/१२ वटा सम्म भैसी तथा रागा काट्दै आएको छ ।
विभागले साताव्यापी रुपमा जनस्वास्थ्यसँग सरोकार राख्ने विभिन्न क्षेत्रमा अनुगमन गर्दै आएको छ । सोही क्रममा आज राजधानीका मासुपसल तथा बधशालामा अनुगमन गरेको हो ।
सरकारले साउन १ गतेदेखि बधशाला सञ्चालन गर्न नदिने निर्णय यसअघिनै गरिसकेको छ ।
- पुष्प दुलाल , अनलाइन खबरबाट
Post a Comment