Websoft University

www.radiomakalu.com || 021-522512


कर्मचारीले नै गर्छन डलर तस्करी


काठमाडौं , असार १९ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने कर्मचारी डलर तस्करीमा लागेको पाइएको छ । विमानस्थल प्रहरीले ड्युटी टर्मिनल कक्षमा क्लिनर्सको काम गर्दै आएका एक कर्मचारीलाई आठ हजार डलरसहित पक्राउ गरेको छ ।
असार ७ गते टर्मिनलमा क्लिनर्सको काम गर्दै आएका सिन्धुपाल्चोक घर भई सिनामंगल बस्ने भरत सञ्जेललाई प्रहरीले आठ हजार डलरसहित पक्राउ गरेको थियो । अन्तर्राष्ट्रिय उडानतर्फको ह्यान्ड ब्यागेज एरियाको पास होल्डर गेटमा सञ्जेलले शंकास्पद व्यवहार देखाएपछि प्रहरीले उनको खल्तीबाट सय, ५० र २० दरको आठ हजार बराबरको अमेरिकी डलर फेलापारेको थियो । उनले सुरुमा प्रहरीलाई ट्राभल एजेन्सीले राख्न दिएको बताए पनि पछि विभिन्न म्यानपावर एजेन्सीमार्फत भिजिट भिसामा कुवेत, कतारलगायतका मुलुकमा जान हिँडेकाबाट उक्त डलर संकलन गरेको बयान दिएका थिए । सञ्जेल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत ठेकदारमार्फत क्लिनर्सको काम गर्दै आएका थिए ।
सञ्जेल पक्राउ परेको दुई दिनमै आठ लाख नेपाली रुपैयाँ राजस्व अनुसन्धान विभागमा धरौटी बुझाएर छुटिसके । तर यो घटनालाई विमानस्थल प्रशासनले भने गुपचुप राख्दै आएको छ ।
 म्यानपावर एजेन्सीकै सेटिङमा भिजिट भिसामा जान हिँडेकाबाट डलर संकलन गर्दै आएका सञ्जेलले विभागको बयानमा केही म्यानपावर कम्पनीको नाम पोलेका छन् । अनुसन्धानका लागि भन्दै ती म्यानपावरको नाम गोप्य राखिएको छ । स्रोतका अनुसार भिजिट भिसामा जान कम्तीमा एक हजार डलर देखाउनुपर्छ । तर सेटिङ गर्नेले विमानस्थलको एप्रोन पुग्नै लाग्दा शौचालयमा पुगेर आफूलाई चाहिने सय देखि दुई सय डलर आफूसँगै राखेर अरू पास गर्दछन् ।
विमानस्थलका तत्कालीन सुरक्षा प्रमुख डीआईजी विजयलाल कायस्थले विमानस्थलभित्रका कर्मचारीलाई मनपरी ढंगबाट गरिएको पास वितरणले थप सुरक्षा चुनौती र अवैध गतिविधि बढ्ने जनाउ दिँदै विमानस्थल प्रशासनलाई पासको ‘रिइन्ट्री' गरेर आवश्यकताभन्दा बढी वितरण नगर्न सुझाएका थिए । प्रशासनले भीआईपी पास रोके पनि अफिसिएल पासमा भने नियन्त्रणकारी काम गर्न सकेको छैन ।
‘सुरक्षाकर्मीदेखि विमानस्थल प्रशासनका महानिर्देशकको समेत शरीर खानतलासी हुने स्थानमा सञ्जेलले कसरी डलर संकलन गरेर लैजाने कोसिस गरे यो खोजबिनको विषय छ । हामीले यस सम्बन्धमा प्राधिकरणको ध्यानाकर्षण गराएका छौं', विमानस्थल सुरक्षा प्रमुख डीआईजी गोविन्द निरौलाले भने । उनले सञ्जेलको काम गराइको शैली र व्यवहारमाथि शंका लागेपछि निगरानी गर्दा डलर बरामद गरिएको बताए ।
विमानस्थलका एक सुरक्षा अधिकारीले भने, ‘अव्यवस्थित ढंगबाट पास वितरण भएको छ । पास भएकालाई को कहाँ जान्छ र के काम गर्छ भनेर प्रहरी पिछा लगाउने कुरो भएन ।'
नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता भोला गुरागाईंले सञ्जलले पाँच वर्षदेखि क्लिनर्सको काम गर्दै आएको बताए । उनले भने, ‘कुनै व्यक्ति खराब भयो भन्दैमा सबै संगठनलाई मुछ्न मिल्दैन । प्रहरी बढी संवेदनशील भयो भने गलत प्रवृत्ति आफैं रोकिन्छ ।' गुरागाईंका अनुसार अन्तर्राष्ट्रिय टर्मिनलमा २८ वटा विभिन्न एयरलाइन्स कम्पनी, सुरक्षा निकाय, प्राधिकरणका कर्मचारी, भन्सार, अध्यागमन र होटल, मनी एक्सचेन्सर, बैंक तथा वित्तीय संस्था र क्लिनर्सलाई गरी करिब ६ हजार पास वितरण गरिएको छ ।
राजस्व अनुसन्धान विभागको कानुन शाखाका जिल्ला न्यायाधिवक्ता तारासिंह धामीले सञ्जेल धरौटी तिरेर छुटेको पुष्टि गरे । उनले भने, ‘ बयानको कुरा मैले खुलाउन मिल्दैन, उनी धरौटी तिरेर छुटिसके ।'

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget