Websoft University

www.radiomakalu.com || 021-522512


छिमेकीले नेपालमाथि स्वार्थ लाद्न हुँदैन- प्रधानमन्त्री ओली



काठमाडौंँ, साउन १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि छिमेकीले नेपालमाथि आफ्ना स्वार्थ लाद्न खोज्न नहुने बताउनुभएको छ ।

मदन भण्डारी फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘परिवर्तित सन्दर्भमा नेपाल र भारत तथा चीनसँगको सम्बन्ध’ विषयक विचारगोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कुनै मुलुक नेपालमा धर्मनिरपेक्ष होस् भन्ने चाहने र कुनैले धर्मसापेक्ष गराउने कोसिस गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘‘नेपाल कस्तो धर्म चाहन्छ भन्ने यहाँका जनताले निर्णय गर्ने हो । कुनै मुलुकलाई के मन पर्छ भन्ने आधारमा तय गर्ने विषय होइन । हाम्रा मामिलामा अरुको हस्तक्षेप थोपर्ने काम स्वीकार्य छैन ।’’

प्रधानमन्त्री ओलीले मित्रराष्ट्रलाई मित्रकै हैसियतमा रहन आग्रह गर्दै भन्नुभयो– ‘‘छिमेकीले रातदिन छौँडा खेलाएर दुःख दिनु बेठीक कुरा हो ।’’

संविधान बन्न नदिने र त्यसपछि सरकार बन्न नदिने पक्षले आफ्नो सरकारलाई करेली र लगाम लगाएर ठेगान लगाउन खोज्ने तथा कहिलेकाहीँ काँधमाथि चढ्न खोजेर नेपालीको स्वाभीमानमा हस्तक्षेप गर्न खोजेको आरोप लगाउनुभयो ।

‘‘हस्तक्षेपको विरोधमा नबोल्नु कूटनीति होइन, कूटनीतिभन्दा माथि नेपालको स्वाभिमान पहिलो हो । सार्वभौम मुलुकको हौसियत कायम गर्नु प्रमुख विषय हो ।” प्रधानमन्त्री ओलीले थप्नुभयो – “एक स्वतन्त्र राष्ट्रका हैसियतले हामी दुनियाँका सबै मित्रराष्ट्रसँग आँखा जुधाएर कुरा गर्न सक्छौँ । त्यही हैसियतामा मैले भारत र चीन भ्रमणका समयमा नेपालको हितमा सम्झौता गरेको छु । नयाँ सरकारले त्यसबाट पछि फर्कन मिल्दैन । जनताको असाधारण चेतनाले अबका सरकारलाई स्वच्छन्द हुन दिँदैन ।”

उहाँले ‘कागका गुँडमा कोइलीले खुसुक्क अन्डा हालेर बच्चा कोरलेजस्तो’ स्थिति नेपाली राजनीतिमा देखिएको भन्दै यस्तो अवस्थामा यहाँ कसैले आफ्नो पुनःरोदय भयो भनेर दसैँमा आँगनमा निस्केर केटाकेटी नाँचेजस्तो गर्नु आवश्यक छैन भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालीको नयाँ सरकार सचेत जनताको निगरानीमा रहने जनाउँदै भन्नुभयो – “त्यो सरकार पनि नेपालभित्र चल्ने हो, बाहिर चल्ने होइन ।”

कार्यक्रममा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मुलुकको स्वाभिमान र राष्ट्रिय एकताका लागि सबै दल र शक्ति एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । उहाँले नेपालले आफ्नो अस्तित्व आफैँले रक्षा गर्न आफ्नो सन्तुलित परराष्ट्र नीतिको पक्षमा उभिनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका नेत्री सुजाता कोइरालाले वर्तमान ओली नेतृत्वको सरकार ढाल्नुपर्ने पक्षमा आफ्नो पार्टीका कार्यकर्ता नरहे पनि शक्तिका खेलाडीले सरकार परिवर्तन गर्न लागेको टिप्पणी गर्नुभयो । उहाँले वर्तमान सरकारले लिएको राष्ट्रियतासम्बन्धी अडान सही भएको विचार राख्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालका भारत र चीन दुवै छिमेकीबीच सन्तुलित सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।

मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का नेता जितेन्द्र देवले राष्ट्रियताको परिभाषा सबैका लागि एउटै हुने टिप्पणी गर्नुभयो ।

कार्यक्रमको दोस्रो सत्रमा विभिन्न परराष्ट्र विज्ञबाट कार्यपत्र प्रस्तुति र छलफल हुनेछ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget