काठमाडौं, असार २३ गते । स्वास्थ्य जाँच इजाजतपत्र नपाएका व्यक्तिले विरामी जाँच्ने गर्ने जस्ता समस्या भेटिएपछि सरकारको अनुगमन टोलीले बालाजु स्वास्थ्य क्लिनिकलाई शिल गरिदिएको छ । यसैगरी गोंगबुस्थित आराधना हेल्थ केयर सेन्टर प्रालिमा पनि अनुगमन टोलीले शिल गरेको छ ।
आपूर्ति मन्त्री गणेशमान पुन नेतृत्वको अनुगमन टोलीले बिहीबार छापा मार्दा बालाजु स्वास्थ्य क्लिनिकमा जथाभावी गर्भपतन गराउने गरेको पाइएको थियो ।यस्तै बाहिर डाक्टरको नाम टाँस्ने तर भित्र आफैंले मनलाग्दी बढी मूल्यमा औषधि दिने गरेको, बाहिर नाम टाँसिएको डाक्टर पनि उपचार गर्न नआउने पाइएको र संस्था संचालनसम्बन्धि कागजपत्र नभेटिएकाले बालाजु स्वास्थ्य क्लिनिकलाई शिल गरेको आपूर्तिमन्त्री पुनका स्वकीय सचिव अर्जुनकुमार पाठकले बताए ।
अधिकांश क्लिनिक इजाजतविना सञ्चालन
अनुगममा अधिकांश मेडिकल तथा क्लिनिकले संस्था दर्ता नगरेको पाइएको आपूर्ति विभागले जनाएको छ । उनीहरुले औषधि वितरण र उपचार गर्ने स्वीकृति नलिएको, सरकारलाई कर नतिरेको भेटेपछि गंगबुस्थित आराधना हेल्थ केयर सेन्टर प्रा.लिलाई पनि शिल गरिदिएको छ ।
उपभोक्ताबाट उजुरी बढेपछि आपूर्ति मन्त्री गणेशमान पुनको निर्देशनमा विभागले तीन दिनदेखि बजार अनुगमन बढाएको छ । पहिलो दिन तरकारी बजारको अनुगमन गरेको विभागले दोस्रो दिन केही मिठाइ उत्पादनमा छापा मारेको थियो । छापा मार्दा आँगनको मिठाइ अखाद्य भन्दै शिल गरिदिएको थियो ।- अनलाइनखबरबाट

Post a Comment