गिरिजा मनकारी, प्रचण्ड ठिकै, बाबुराम ल्यापटपमा झुण्डिने
काठमाडौं , असार २१ गते । ललितपुरको चापागाउँका कृष्णगोविन्द महर्जनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा चिया खुवाउन थालेको धेरै वर्ष बित्यो ।
महर्जनले कृष्णप्रसाद भट्टराईदेखि गिरिजाप्रसाद कोइराला हुँदै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्म आइपुग्दा झण्डै एक दर्जन प्रधानमन्त्रीहरुसँग संगत गरिसकेका छन् ।
जीवनको अधिकांश समय देशका प्रधानमन्त्रीहरुसँग बिताएका महर्जनले पूर्वप्रधानमन्त्रीहरुलाई भिन्नरुपले चिन्छन् । यसैक्रममा हामीले महर्जनलाई कुन प्रधानमन्त्रीको स्वाभाव कस्तो थियो भनेर सोध्यौं ।
महर्जनले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, माधवकुमार नेपाल, झलनाथ खनाल, प्रचण्ड, बाबुराम भट्टराई, खिलराज रेग्मी र केपी ओलीको यसरी चरित्र चित्रण गरेः
कृष्णप्रसादले नारायण खड्कालाई गेटआउट भने
प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका स्वकीय सचिव थिए नारायण खड्का । उनले एकपटक प्रधानमन्त्रीको बेस्कन गाली खाए ।
भट्टराईसँगै जेल जीवन बिताएका चितवनका श्रेष्ठ थर भएका व्यक्ति प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई भेट्न भन्दै लगातार एक महिनासम्म सिंहदरबार आए र भेट्न नपाएर फर्किए । स्वकीय सचिव खड्काले कहिल्यै भेट्न दिएनन् ।
उनले बैंकबाट ५६ लाख ऋण लिएका रहेछन् । तर, पैसा तिर्न नसकेपछि बैंकले उनको जग्गाजमीन, मिल सबै लिलाम गर्ने भएछ । लिलामी म्याद सकिन लाग्दा प्रधानमन्त्रीले केही गरिदिनुहुन्छ कि भनेर आएका रहेछन् । उनले यो सबै कुरा नारायण खड्कालाई रुँदै भनेका थिए ।
तर, महिनौँ दिनसम्म पनि खड्काले प्रधानमन्त्रीसँग भेटाइदिएनन् । आइतबार उनको लिलाम हुँदै थियो । शुक्रबार अन्तिम दिन उनी आज बरु मर्छु, तर प्रधानमन्त्रीलाई नभेटी फर्किन्न भन्दै आए । र, जर्बरजस्ती भित्र छिरे । तर, त्यतिगर्दा पनि डा. नारायण खड्काले भेट्न दिएनन् ।
त्यतिबेलाको घटना महर्जन सम्झन्छन्, ती श्रेष्ठ थरका व्यक्ति कन्ट्रोल रुममा रुँदै थिए, प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई पनि ठ्याक्कै कतै जान निस्कँदै थिए, कन्ट्रोल रुममा भेट भयो ।
प्रधानमन्त्रीले श्रेष्ठलाई देख्नेवित्तिकै अंगालो मारे । श्रेष्ठले प्रधानमन्त्रीसँग आफ्नो दुख सुनाएपछि भट्टराईले नारायण खड्कालाई ‘गेटआउट’ भने ।
महर्जन भन्छन्, आजैदेखि मसँग नहिँड्नु, नबस्नु भनेर किसुनजीले खड्कालाई बेस्कन गाली गरे । तर, पछि केके भनेर कुरा मिलाए कुन्नि, खड्का स्वकीय सचिवबाट हटेनन् ।
प्रधानमन्त्रीले त्यहीँबाट बैंकमा फोन गरेर सहज बनाइदिन निर्देशन दिए । लिलाम नगरिदिनु भन्ने निर्देशन दिएका थिए । त्यसपछि त्यो मान्छे कहिल्यै प्रधानमन्त्री कार्यालयमा देखिएन ।
गिरिजाः साह्रै मनपर्ने
महर्जनलाई गिरिजाप्रसाद कोइराला साह्रै मन पथ्र्यो । मनपराउनुको एउटै कारण छ, गिरिजाले उनलाई राम्रोसँग चिन्थे, भेटेका बेलामा सञ्चै छौ ? परिवारमा सबैलाई राम्रो छ ? भनेर सोध्थे ।
महर्जन भन्छन्, ‘जहाँ र जहिले भेट्दा पनि गिरिजाले मलाई चिन्नुहुन्थ्यो । प्रधानमन्त्रीबाट हटेपछि पनि भेटेका बेलामा राम्रोसँग बोल्ने गिरिजामात्रै हो । उहाँले घरको सञ्चो विसञ्चोसम्म पनि सोध्नुहुन्थ्यो । खाजा खायौ ? खाना खायौ ? के खायौसम्म सोध्नुहुन्थ्यो । हामी ठीक छ हजुर भन्थ्यौँ । त्यो भन्दा बढी हामीले केही भन्दैनथ्यौँ । ठूलो मान्छेलाई के भन्ने ? तर, हामीलाई त्यसरी सोधेकोमा निकै खुशी लाग्थ्यो । प्रधानमन्त्रीजस्तो मान्छेले सञ्चो विसञ्चो सोध्दा किन खुशी नलाग्नु ?
तर महर्जन र उनका साथीहरुलाई गिरिजाबाहेक अरु प्रधानमन्त्रीहरुले कहिल्यै त्यस्तो सोधेनन् ।
तर महर्जन र उनका साथीहरुलाई गिरिजाबाहेक अरु प्रधानमन्त्रीहरुले कहिल्यै त्यस्तो सोधेनन् ।
‘नचिनेर हो कि ? वा साना मान्छेसँग किन बोलिराख्नु भनेर हो, अरु प्रधानमन्त्रीहरु पदबाट हटेपछि सिंहदरबारमा भेट्दा राम्रोसँग बोल्दैनन् ।’
महर्जनको बुझाइमा गिरिजा अरुभन्दा निकै भिन्न स्वभावका प्रधानमन्त्री हुन् । कुनै कुरामा निकै सजिला थिए । तर, जेमा पनि उनको अडान देखिन्थ्यो ।
प्रधानमन्त्री हुँदा गिरिजाले चिया खाने एउटामात्रै कप थियो । अरु प्रधानमन्त्री जस्तो उनले जुन भेट्यो, त्यही कपमा कहिल्यै चिया खाएनन् ।
अतिथि सत्कार विभागमा विशिष्ट अतिथिहरुका लागि छुट्टै भाँडा थिए । हरेक सामानमा नेपाल सरकारको लोगो हुन्थ्यो, गिरिजा त्यही कपमा मात्रै चिया खान्थे ।
गिरिजा धेरै समयसम्म कार्यालय बस्ने प्रधानमन्त्रीमा पर्छन् । उनले खाने चियाको स्वाद पनि भिन्नै थियो । इलाम र टोकला चिया मिसाएर बनाएको चिया खान्थे, महर्जन सम्झन्छन्, ‘यसरी मिसाउँदा चियामा छुट्टै स्वाद आउँछ ।’
शेरबहादुरः बोलेको नबुझिने, साह्रै रिसाउने
०५१ सालमा महर्जनले पहिलोपटक प्रधानमन्त्री शेरबहादुर देउवालाई चिया खुवाए । देउवालाई चिया खाजा खुवाउँदा उनले बोलेको नबुझेर महर्जनलाई धेरैपटक अप्ठेरो पर्यो । एक दिन उनका साथीले त मज्जाले गाली नै खाए ।
कृष्णगोविन्दलाई सम्झना छ, उनका साथी श्याम कम कान सुन्थे । ‘देउवाले पीएलाई भित्र पठाइदिनुस् है भनेका रहेछन्, श्यामले चिया ल्याउ भनेको सुनेर चिया बोकेर गएछन्, देउवाले झण्डै मारेको !'(हाँस्दै)
महर्जन भन्छन्, कुनै-कुनैबाहेक देउवाको कुरै बुझिँदैन । अझ रमाइलो कुरा त देउवाले उनीहरुलाई कहिल्यै चिनेनन् । ‘केही खान पर्यो भनेे हृवेहृवे भन्नुहुन्थ्यो, सबै कुरा बुझ्न गाह्रो हुन्थ्यो, हामी पीएलाई सोध्थ्यौँ ।’
मर्हजनका अनुसार देउवालाई कालो कफी मन पर्छ । चिनी र दूध हालेको कफी प्रायः खाँदैनन् । अहिलेसम्मका पूर्वप्रधानमन्त्रीहरुमा सबैभन्दा बढी चिया खाने प्रधानमन्त्री पनि देउवा नै हुन् ।
चाँडै र धेरै रिसाउने प्रधानमन्त्रीमा पनि देउवा नै पर्छन् । खाना खाइरहेका बेला कोहीभित्र पस्न हुन्नथ्यो, महर्जन सम्झन्छन्, ‘कोही पसिहाल्यो भने बेस्कन रिसाउने । साह्रै नै रिसाउने । त्यतिबेला पीएलाई खुब गाली गर्थे । हेहेहेहे भन्थे, के भनेको हो बुझिँदैनथ्यो । तर, साह्रै गाली गर्थे । ‘
प्रचण्डः दौरासुरुवाल नलगाएको मन परेन
महर्जन पूर्वप्रधानमन्त्री प्रचण्डलाई पनि कहिल्यै बिर्सँदैनन् । ‘प्रचण्डले मलाई अरु त केही सोध्नुभएन, जागिर खाएको कति बर्ष भयो भनेर सोध्नुभएको थियो, ३७-३८ बर्ष भइसकेको थियो । तर, मैले २०/२२ बर्ष भयो हजूर भन्दा यत्रो बर्ष भनेर हाँस्दै जिब्रो टोक्नुभयो ।’
महर्जन भन्छन्, ‘प्रचण्डलाई तुलसी चिया पाएपछि अरु केही चाँहिदैनथ्यो ।’ युद्धबाट आएको भए पनि उनलाई प्रचण्डप्रति कहिल्यै असहज लागेन । भिन्न मान्छेजस्तो पनि लागेन ।
शान्ति वार्ता र प्रधानमन्त्रीसँगको सबै वार्तामा महर्जन आफैँ चिया, खाजा बोकेर पुग्थे । उनी हरेक दिन प्रचण्डको नजिक हुन्थे । त्यही भएर पनि उनलाई प्रचण्ड कहिल्यै नयाँ र भिन्न लागेन ।
प्रचण्डसँग महर्जनको एउटा असहमति छ । त्यो के भने प्रचण्डले कहिले दौरासुरुवाल लगाएनन् । मलाई चाँहि दौरा सुरुवाल लगाइदिए पनि हुन्थ्यो भन्ने लाग्थ्यो । म आफैँ सधैँ दौरा सुरुवालमा सिंहदरबार जान्थें । राष्ट्रिय पोसाकको माया लाग्छ । तर, प्रचण्डले सधैँ टाई सुटमात्रै लगाउनुभयो ।
सजिला प्रधानमन्त्रीहरु
महर्जनको अनुभवमा लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा सजिला प्रधानमन्त्रीमा पर्छन् । यी दुवै पूर्वप्रधानमन्त्रीहरु चिया कम खान्थे । कार्यालय पनि कम बस्थे । तर, उनीहरुलाई दूध र चिनी हालेको चिया नै चाहिन्थ्यो । अरु प्रधानमन्त्रीहरु चिनी हालेको चिया खाँदैनन् ।
पूर्वप्रधानमन्त्री चन्द सानोतिनो गल्ती जस्तै चिया पोखायो भने रिसाउँदैनथे । अरु चाँही छड्के आँखा तर्थेर् । त्यही भएर पनि चन्द सजिलो लाग्थ्यो ।
खिलराज रेग्मी
रेग्मीमा कर्मचारी स्वभाव थियो । बिहान ठीक १० बजे आउने, अधिकांश समय कार्यालयमा बिताउने र ५ बजेपछि निस्कने । उनलाई पनि कालो चिया मन पथ्र्यो । तर, धेरै खाँदैनथे ।
माधवकुमार नेपाल
माधवकुमार नेपाल भिन्न स्वभावका प्रधानमन्त्री थिए । महर्जनका अनुसार उनलाई चाहियो भनेको कुरा तत्काल चाहिन्थ्यो । भएन भने पछिसम्म पनि मैले भनेको त्यो काम के भयो भनेर सोध्ने गर्थे ।
झलनाथ खनाल
महर्जनको बुझाइमा झलनाथ खनाल पनि लोकेन्द्रबहादुर चन्द जस्तै सोझा प्रधानमन्त्री हुन् । अरुजस्तो बोल्ने पनि होइन । चिया खान मन लाग्यो, मगाएर खान्थे । उनी कालो कफीका पारखी हुन् ।
डा. बाबुराम भट्टराई
बाबुराम भट्टराईका बारेमा मर्हजनलाई धेरै सम्झना छैन । उनी धेरै समय ल्यापटपमा बिताउँथे ।
केपी साह्रै हसाउँने !
महर्जनका अनुसार प्रधानमन्त्री ओली कार्यालयमा रहँदा पनि विभिन्न टुक्का भनेर हँसाइरहन्छन् । कहिलेकाँही श्रीमतीलाई पनि सँगै लिएर आउँछन्, र सबैका अगाडि जिस्क्याएर हसाउँछन् । ‘कहिलेकाँही प्रधानमन्त्रीको कार्यालयमा आउँदा तिमी कता हराएको थियौ, मैले खोज्न लगाएको थिएँ, आएछौ भनेर हँसाउनुहुन्छ ।’
चिया कस्तो छ, तिमीहरुले खाएर ल्याएको हो त ? भनेर जिस्क्याउनुहुन्छ । - पुष्प ढुंगाना , अनलाइन खबरबाट
Post a Comment