भक्तपुर, असार २८ गते । जिल्ला प्रशासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयले अनुगमन तथा कारबाही गर्न नसकेपछि यहाँका चोक तथा गल्लीमा अवैध स्वास्थ्य संस्था छ्याप्छ्याप्ती सञ्चालनमा आएका छन् ।
अनुगमन र कारबाही पनि नहुने भएपछि जिल्लाका मुख्य सहर, नयाँबस्तीका चोक र गल्लीमा बिनादर्ता अवैध रुपमा औषधि पसल, अवैध गर्भपतन सेवासहितको स्वास्थ्य क्लिनिक, डेन्टल क्लिनिक एवम् अस्पताल सञ्चालनमा आएका छन् ।धेरै औषधि पसलले भाडामा ल्याएको औषधि पसलको प्रमाणपत्र झुन्ड्याएर औषधि बिक्री गर्ने एवम् विभिन्न विशेषज्ञ र चिकित्सकको नाम झुन्ड्याएर बिरामीलाई समेत ठगी गर्दै औषधि बिक्री एवम् स्वास्थ्य जाँच गर्दा पनि सम्बन्धित निकायले चासो दिएको छैन । औषधि पसलमा प्रमाणपत्र झुन्ड्याए पनि ती व्यक्ति भेटिँदैनन् । औषधिको सामान्य ज्ञान समेत नभएका व्यक्तिलाई पसलमा राखेर औषधि बिक्री गर्ने गरेको समेत पाइएको उपभोक्ताको गुनासो छ ।
औषधिमा मनोमानी मूल्य लिने, सामान्य ज्ञान पनि भएका व्यक्तिले नै बिरामीको स्वास्थ्य परीक्षण गरेर औषधि दिने र कतिपय क्लिनिकले अनुमतिबिना शय्या राखेर अवैध रुपमा गर्भपतन गराउने गरेका छन् ।
यस्ता औषधि पसल, क्लिनिक एवम् स्वास्थ्य संस्थाले जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान भए पनि १० प्रतिशत पनि दर्ता नभएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रशासन शाखाले जनाएको छ ।
विसं २०७० को स्वास्थ्य निर्देशिकाले जनस्वास्थ्यलाई २५ श्ययासम्मको स्वीकृति दिन सक्ने अधिकार दिए पनि भक्तपुरमा सञ्चालित एक सयभन्दा बढी यस्ता स्वास्थ्य संस्था दर्ता नगरी सञ्चालन गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा उजुरी आउने गरे पनि साधन, स्रोत र जनशक्तिको अभाव देखाउँदै अनुगमन गरिएको छैन ।
दर्तावाला क्लिनिक एवम् स्वास्थ्य संस्थाले जनस्वास्थ्य कार्यालयमा मासिक प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान रहे पनि सो नियमलाई समेत पालना गरिएको छैन । यस्ता स्वास्थ्य संस्थाले आम्दानीको पाँच प्रतिशत कर बुझाउनुपर्ने प्रावधान रहे पनि कारबाही हुन नसक्दा बर्सेनि करोडौँ रुपैयाँको कर छली भइरहेको कार्यालयका जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीले बताएका छन् ।
कार्यालय प्रमुखले नै अवैध सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको अनुगमन र कारबाहीलाई चासो नदिएको बताउँदै कर्मचारीले विगत वर्षमा भएका अनुगमनमा दोषी ठहरिएकालाई समेत कारबाही गर्न नसकिएको बताएका छन् ।- रासस

Post a Comment