Websoft University

www.radiomakalu.com || 021-522512


प्रेस काउन्सिलमा उजुरीको सङ्ख्या बढ्दो


काठमाडौँ, असार १७ गते । पत्रकार आचारसंहिता उल्लङ्घन गरी समाचार प्रकाशन÷प्रसारण गर्ने सञ्चार माध्यमविरुद्ध प्रेस काउन्सिल नेपालमा पर्ने उजुरीको सङ्ख्या क्रमिक रुपमा बढ्दै गएको छ ।

चालु आवको असार दोस्रो सातासम्ममा काउन्सिलमा १०३ (मङ्सिरसम्ममा २१ उजुरी तामेली) उजुरी परेका छन् । आव २०७१÷७२ मा ५४ (तामेली १४) उजुरी परेका थिए । त्यसैगरी २०७०÷७१ मा ४१ (तामेली ८) उजुरी परेका थिए ।

सबैभन्दा बढी आर्थिक दैनिक र जनआस्था साप्ताहिकविरुद्ध पाँच÷पाँच वटा उजुरी परेका छन् । यसैगरी, नागरिक दैनिक, सेतोपाटी डटकम, अन्नपूर्णपोष्ट दैनिक र अनलाइन खबर डटकमविरुद्ध दुई÷दुई वटा उजुरी परेका छन् । यीमध्ये कतिले आफ्नो समाचारको खण्डन गरेका छन् भने कतिले अटेर गरिरहेका छन् ।

चालु आवमा परेका कुल १०३ उजुरीमध्ये टेलिभिजन र रेडियोविरुद्ध पनि आचारसंहिता उल्लङ्घन गरी झूटा समाचार प्रकाशन÷प्रसारण गरेको काउन्सिलमा उजुरी परेका छन् । अधिकांश उजुरीको प्रकृति ‘झूटो समाचार प्रकाशन÷प्रसारण गरेको’ भन्ने पाइएको छ ।

पछिल्लो पटक यही जेठ २६ गते आर्थिक दैनिकमा प्रकाशित ‘सुनमा मिसाउने अवैध रसायनलाई धुलो दूध भन्दै तस्करलाई उन्मूक्ति’ र सोही पत्रिकामा २०६२ माघ ४ गते प्रकाशित ‘विश्वमा नै प्रतिबन्धित सुनमा मिसाउने रसायनमा नेपाली गिरोह’ शीर्षकको समाचार झूटो रहेको भन्दै थिमि नपा–११ दिगुटोलका भरत बज्राचार्यले काउन्सिलमा उजुरी गर्नुभएको छ ।

“आर्थिक दैनिकका समाचारदाताले मागेअनुसार नजराना नटक्र्याएकै प्रतिशोधमा त्यस्ता समाचार लेखेर छाप्ने दुस्साहस गरेका हुन्, मेरो मानवअधिकार हनन गरेका उनीहरू पनि कानुन बमोजिम छानबिनको दायरामा आऊन” – उजुरीमा भनिएको छ ।

सो समाचारबारे खण्डनका लागि काउन्सिलले फ्याक्समार्फत आर्थिक दैनिकलाई आग्रहसमेत गरिसकेको काउन्सिलका उपप्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिनुभयो ।

त्यसैगरी, काउन्सिल आफैँले गरेको अनुगमनका क्रममा २०७२ चैत २९ गते ‘प्रतिस्पर्धा’ साप्ताहिकमा ‘प्रेस काउन्सिलमा भाँडभैलो’ शीर्षकको समाचार गलत भएको जानकारी गराउँदै काउन्सिलले समाचारबारे प्रमाणसहित जवाफ मागेको थियो तर काउन्सिललाई चित्त बुझ्दो जवाफ आएको छैन ।

पत्रकार आचारसंहिता–२०६० (संशोधित तथा परिमार्जित–२०६४) मा निजी स्वार्थ पूर्तिका लागि आमसञ्चारमाध्यमको प्रयोग गर्न नहुने, घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गर्न नहुने र तथ्य बङ्ग्याउन नहुनेलगायत १४ बुँदामा पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कार्यहरू उल्लेख गरिएका छन् ।

आचारसंहिता उल्लङ्घन गर्नेलाई काउन्सिलले गर्ने अन्तिम कारबाहीस्वरूप सूचना विभागबाट वितरण गरिने प्रेस पास निलम्बत गर्न सिफारिस गर्ने, काउन्सिलको मूल्याङ्कन वर्गीकरणबाट अलग गर्ने र काउन्सिलको निर्णयलाई निरन्तर अवज्ञा गर्ने पत्रकार वा सञ्चारमाध्यमविरुद्ध काउन्सिलले खेद प्रकट गरी पटक पटक गरेको कारबाहीको विवरणसहित सार्वजनिक रूपमा प्रकाशन÷प्रसारण गर्न सक्नेछ ।

पत्रकार तथा सञ्चारमाध्यमले जतिपटक झूटो समाचार प्रकाशन÷प्रसारण गरे पनि सानो खण्डन निकालेपछि माफी हुने भएका कारण पनि ती सञ्चारमाध्यमले व्यक्तिको मानवअधिकार हनन हुने गरी पटक पटक झूटा समाचार लेख्ने गरेको उजुरीकर्ताको भनाइ छ ।

काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले अहिलेको आचारसंहिता अलि नरम भएको देखिएको सन्दर्भमा काउन्सिलले नयाँ आचारसंहिता जारी गरी कडाइका साथ कार्यान्वयन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । आमजनतामा उजुरी गर्नुपर्छ भन्ने जानकारी भएको कारण पनि काउन्सिलमा दिन प्रतिदिन उजुरीको सङ्ख्या बढ्दै गएको अध्यक्ष कार्कीको भनाइ छ ।

आचारसंहिता उल्लङ्घनका बारेमा प्रतिक्रिया दिँदै नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले भन्नुभयो – “आचारसंहिता पालना गर्नु पत्रकार तथा आमसञ्चारमाध्यमको दायित्व हो । पत्रकारलाई प्रेस स्वतन्त्रता हुनुपर्छ तर, कसैको व्यक्तिगत लेनदेन वा रिसइबीका कारण समाचार लेखिनु हुँदैन ।” अध्यक्ष विष्टले काउन्सिलको क्षेत्राधिकारलाई बढाएर नयाँ आमसञ्चार नीतिमै समेट्न छलफल भइरहेको समेत जानकारी दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget