Websoft University

www.radiomakalu.com || 021-522512


‘नयाँ सरकारको प्रस्ट व्यवस्था छ, गलत प्रचार नगरौँ’


काठमाडौँ, साउन ९ गते । व्यवस्थापिका–संसद्मा दर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विश्वास छैन भनी दर्ता भएको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले संविधानसभाबाट जारी भएको संविधानको गलत व्याख्या नगर्न आग्रह गर्नुभयो ।

उहाँहरुले नेपालको संविधानको धारा २९८ ले नयाँ प्रधानमन्त्री चयनसम्बन्धी प्रस्ट व्यवस्था गरेकाले अनन्तकालसम्म कार्यकारी प्रमुख नै चयन हुन सक्दैन भन्ने दृष्टिकोणबाट सरकारमा रहेको दलका तर्फबाट प्रचार हुनु दुःखद् रहेको बताउनुभयो ।

मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का जितेन्द्रनारायण देवले नयाँ सरकार बन्नै सक्दैन भन्ने अतिवादी सोचबाट ग्रस्त भएर संविधानको अपव्याख्या नगर्न आग्रह गर्नुभयो । उहाँले आफ्नो पार्टीले वर्तमान प्रधानमन्त्रीविरुद्ध सदनमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्दै शनिबार नै सरकारबाट फिर्ता भएको उल्लेख गर्नुभयो ।

राप्रपाका विक्रम पाण्डेले संविधानअनुसार नै नयाँ सरकार गठन हुने मार्गप्रशस्त रहेको छ भन्दै आफ्नो पार्टीले अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको बताउनुभयो ।
सांसद कलसादेवी महराले लोकप्रियताको शिखरमा पुगेको सरकारलाई जबर्जस्ती ढाल्न लागिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । सांसद हरिचरण साह, रामकुमार राई, कुमार खड्का, रुक्मिणी चौधरी, चन्द्रेश्वर झा र नगेन्द्र कुमालले आदिवासी, जनजाति तथा अल्पसङ्ख्यक समुदायको भावनाविरुद्ध ओली सरकारले गतिविधि गरेको भन्दै आफूहरुले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने बताउनुभयो ।

सरकारी निकायमा चरम राजनीतीकरण गरियो– डा महत
नेपाली काँग्रेसका डा रामशरण महतले ओली नेतृत्वको सरकार आफ्नै कारणले ढल्छ भन्ने आफ्नो विगतको घोषणाले मूर्तरुप लिएको बताउनुभयो । उहाँले सरकारी संयन्त्रमा चरम राजनीतीकरण गरिएको, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण लगायत निकायमा हस्तक्षेप गरिएको र मन्त्रालय फुटाएर चरम विकृति भित्र्याइएको भन्दै सरकारको आलोचना गर्नुभयो ।

काँग्रेस नेतृत्वको सरकारले कालापानी र लिपुलेकको विषयमा कुरा गरेको जानकारी दिँदै उहाँले कूटनीतिक विषय सडकमा हल्ला गरेर अगाडि बढ्न नसक्ने तर ओली नेतृत्वको सरकारले केवल हल्ला मात्रै गरेको आरोप लगाउनुभयो । उहाँले नाकाबन्दी सरकारले खुलाएको नभई जनताको बलमा खुलेकाले त्यसलाई आफ्नो उपलब्धिमा राखिनु गलत भएको बताउनुभयो ।

काँग्रेसकै अर्जुननरसिंह केसीले सरकारको नेतृत्वकर्ता दलभित्रै समेत सहमति नगर्ने, गुटगत मानसिकताका आधारमा अगाडि बढ्ने, सरकारमा सहभागी भएका दललाई विश्वासमा नलिने प्रवृत्ति मौलाएका कारण आफ्नै बोझले ओली नेतृत्वको सरकार ढल्न लागेको बताउनुभयो ।

उहाँले बृहत् राष्ट्रिय एकता र सहमतिका आधारमा मुलुकमा अगाडि बढाउने लक्ष्यका साथ सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको धारणा राख्नुभयो । संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएपछि नयाँ सरकार गठन नै हुन नसक्ने भन्ने एमालेका नेताको धारणा संविधानको भावना विपरीत रहेको उहाँको कथन थियो ।

एमाले प्रतिपक्षमा बस्छ ःज्ञवाली
नेकपा(एमाले)का युवराज ज्ञवालीले व्यवस्थापिका–संसद्मा राष्ट्रिय महत्वका सवालमा छलफल हुनुपर्नेमा अविश्वासको प्रस्तावमाथि छलफल हुनु दुःखद रहेको भन्दै गुनासो गर्नुभयो ।

सरकारमा सहभागी भएकै दलबाट अविश्वासको प्रस्ताव आउनु दुर्भाग्यपूर्ण छ भन्दै उहाँले आफैँ सहभागी सरकारका नीति तथा कार्यक्रम र बजेटमाथि नै अविश्वास राखिनु गलत रहेको बताउनुभयो ।

एमाले प्रतिपक्षमा बस्न तयार छ भन्दै उहाँले मुलुकका सामु रहेका समस्या समाधान गर्न सबै दलको सहमति जरुरी रहेको स्पष्ट पार्नुभयो ।

दौरासुरुवालको अपमान किन

एमालेका लालबाबु यादवले दौरासुरुवाल नेपाली पोसाक भएकाले त्यसको अपमान नगर्न आग्रह गर्दै नेपालको राष्ट्रियताको जर्गेना गर्नुपर्नेमा जोड दिनुभयो । ‘‘अमेरिकन कोट र बेलायती प्यान्टस लगाएर नेपाली पोसाकको विरोध गर्न पाइन्छ ? यो कसरी मिल्छ’’ उहाँले भन्नुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget