Websoft University

www.radiomakalu.com || 021-522512


तातोपानी क्षेत्र उच्च जोखिममा


तातोपानी क्षेत्र उच्च जोखिममा

बाह्रबिसे (सिन्धुपाल्चोक) , असार २४ गते । पानीको बहाव कम भए पनि भोटेकोसीमा आएको बाढीका कारण नदीकिनारमा कटान नरोकिएपछि तातोपानी क्षेत्र जोखिममा परेको छ । बाढी कम भए पनि नदीले जमिन कटान गरेर राजमार्गछेउका घरमा क्षति हुने क्रम रोकिएको छैन ।
चीनतिरबाट आएको बाढीले नदीकिनारको जमिन कटान गर्न नरोकिएकाले नेपाल–चीन सीमा क्षेत्रको तातोपानी र आसपासका क्षेत्रका घरमा क्षति हुने क्रम रोकिएको छैन । मंगलबार मध्यरातबाट सुरु भएको बाढीले सीमा क्षेत्रमा मात्र ४० भन्दा बढी घर बगाइसकेको छ ।
जिल्ला दैवीप्रकोप उद्धार समितिको बिहीबार बसेको बैठकमा दिइएको जानकारीअनुसार बाढीले सीमा क्षेत्रको लिपिङ बजारमा २० परिवारका २१ वटा घर बगाइसकेको छ भने थप ३० वटा घर पनि बग्ने अवस्थामा पुगेका छन् । कोदारी बजारको होटेल इको र आसपासका घर पनि नदी कटानमा परेका छन् । तातोपानी बजारमा थप घर बग्ने अवस्थामा पुगेको सुरक्षा निकायको भनाइ उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बताए । नदीको बहाव बजारतर्फ बढ्दै गएकाले थप क्षति हुनसक्ने अनुमान छ ।
स्थानीय चौकीडाँडामा आ श्रय लिइरहेका सर्वसाधारणलाई राजधानी पुर्‌याउने तयारी भइरहेको पनि दुवाडीले बताए । स्थानीय प्रशासनसमक्ष ५० जनाले राजधानीमा गएर बस्ने चाहना व्यक्त गरेका छन् । अन्यका लागि आवश्यकताअनुसार अस्थायी आवास र खाद्यान्नको व्यवस्था गर्ने समितिको निर्णय छ ।
बाढीका कारण गएको पहिरोले तार, पोल, ट्रान्सफर्मरलगायत बगाउँदा बाह्रबिसेमाथिका सबै गाउँमा बिजुली अवरुद्ध भएको छ । बिजुली बाल्न ५० भन्दा बढी पोल आवश्यक रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । जुरे पहिरोमा सडक मर्मत गरी बाह्रबिसेसम्म यातायात सञ्चालन गराइए पनि त्यसमाथिको क्षेत्रमा सडक तत्काल मर्मत गर्नसक्ने अवस्था छैन ।
क्षति न्यूनीकरण र यातायात सञ्चालन गराउन सम्बन्धित क्षेत्रका विज्ञको संलग्नतामा समिति गठन गरिएको छ । बाढीको त्रासले नदीकिनारका बासिन्दा सामान्य अवस्थामा फर्कन सकेका छैनन् । सर्वसाधारणमा त्रास कायमै रहे पनि बिस्तारै जनजीवन सामान्य हुने अवस्थामा रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताए ।
चीनको कुनै ठाउँमा भएको अविरल वर्षाका कारण मंगलबार राति बाढी आएको अनुमान गरिएको छ । लेदो बगेर आएका कारण चीनको कुनै ठाउँमा पहिरो गई केही समय नदी थुनिएर खुल्दा एक्कासि पानीको बहाव बढेको अनुमान गरिएको हो । विज्ञहरूले हिमताल पनि फुटेको हुनसक्ने अनुमान गरेका छन् । - युवराज पुरी , अन्नपूर्ण पोस्टबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget