Websoft University

www.radiomakalu.com || 021-522512


२५ वर्षभित्र समृद्ध नेपाल : भट्टराई


काठमाडौँ, जेष्ठ ३० गते। नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले २५ वर्षभित्र समृद्ध नेपाल बनाउने गरी आफ्नो दलले काम थाल्ने घोषणा गरेका छन् । आइतबार राजधानीको दशरथ रंगशालामा पार्टी स्थापना घोषणा सभामा बोल्दै भट्टराईले राजनीतिक क्रान्तिका लागि आजसम्म संघर्ष भएकाले अब आर्थिक समृद्धिमा केन्द्रित हुने बताएका हुन् ।



‘पहिलो चरणमा भूगोल निर्माण र दोस्रो चरणमा राजनीतिक अधिकार प्राप्त भयो, अब तेस्रो चरण आर्थिक विकास र समृद्धिको हो,’ उनले पार्टी घोषणा गर्दै भने, ‘मैले पीएचडी गर्दा मेरी निरक्षर आमाले त्यसलाई भन्नसमेत नजानी बित्नुभयो । मेरी छोरी र तपाईंहरूको पुस्ताका लागि अब काम गर्छु । म जे बोल्छु, त्यो पूरा गर्छु ।’ प्राय: भाषणहरूमा औपचारिक शैलीमा प्रस्तुत हुने गरेका भट्टराईले पार्टी घोषणा मन्तव्यभरि अनौपचारिक संवाद गरिरहे । गोरखामा जन्मेको सामान्य किसानको छोरो प्रधानमन्त्री पदमा पुगिसकेकाले अब आफूलाई थप पाउन केही बाँकी नरहेकाले युवा पुस्ताका लागि सबै योगदान गर्न तयार रहेको उनको भनाइ थियो ।

‘आर्किटेक्ट हुँ । धेरैका घर बनाएको छु । आजसम्म आफ्नो घरचाहिँ बनाएको छैन, हरेक नेपालीको घर बन्ने दिन नआउँदासम्म बाबुरामले निजी सम्पत्ति र घर जोड्ने छैन,’ उनले माहोललाई आफूतिर खिचे, ‘मेरी छोरी यही देशमा बसून् । म बूढो हुँदा विदेशिएका छोराछोरीको मुख हेर्न नपाउने दिन देख्नु नपरोस् । समृद्ध नेपालका लागि यो मेरो भीष्म प्रतिज्ञा भयो ।’

भट्टराईले १० वर्षको सशस्त्र युद्धका बेला धेरै घाउचोट लागे पनि अब त्यो इतिहासलाई छाडिदिएको बताए । उनले माफीका शब्द उच्चारण गरेनन्, युद्धका विषय सत्य निरूपण तथा मेलमिलाप आयोगले निरूपण गर्ने, आफूलाई त्यसको निर्णय मान्य हुने बताए । ‘बाबुरामले माओवादीसँगै सहिद, घाइते, बेपत्ता छाड्यो भन्ने परेको होला, त्यस्तो होइन,’ उनले थपे, ‘पहिलो सहिद लखन थापादेखि आजसम्म सबै आन्दोलनका सहिद र बेपत्ताको जिम्मा हामी लिन्छौं ।’ कांग्रेस र एमालेले समेत सशस्त्र संघर्षको सहारा लिएको उनले चर्चा गर्दै अप्रत्यक्ष भाषामा आफूसमेतको नेतृत्व रहेको तत्कालीन माओवादीको युद्ध गलत नभएको टिप्पणी गरे ।

नयाँ शक्तिको राजनीतिक विचारधारा के हुन्छ भन्ने प्रश्न आफूले निरन्तर सामना गरिरहेको खुलाउँदै भट्टराईले समृद्ध नेपालका लागि अझै व्यापक छलफल गर्न तयार रहेको बताए । विचार कुनै धर्मशास्त्र नभएकाले नेपालको समृद्धिका लागि चाहिने जुनसुकै बहस गर्न खुला हुने विचार राखे । ‘संसारको कुनै पनि ताकतले नयाँ विचारलाई रोक्न सक्दैन, हामी परम्परागत बाटोमा छैनौं,’ उनले भने । भारत र चीनसँग सम्बन्धबारे बोल्दै उनले दुई ढुंंगाबीचको तरुल नभई दुई ठूला समुद्रबीच गतिशील पुल बन्नुपर्ने टिप्पणी गरे । उनले पूर्ण समानुपातिक व्यवस्थापिका र प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा आफ्नो अडान पुन: दोहोर्‍याए ।

नयाँ शक्ति घोषणा सभामा भाग लिन रंगशाला आएका कार्यकर्ता समर्थकलाई संयोजक भट्टराईले नौबुँदे शपथ ग्रहण गराए । शपथ ग्रहणको व्यहोरामा हरेक कार्यकर्ताले नयाँ शक्तिको सदस्य भएकामा गर्व गर्ने, लोकतन्त्र, संघीयता, समृद्धि, विकास र सामाजिक न्यायको सपना पूरा गर्न वचनबद्ध हुने, आफ्नै जीवनकालमा समृद्ध नेपाल निर्माण गर्न सम्भव छ भन्ने विश्वास राख्नेलगायत बुँदा छन् । ‘म सबै नेपाली जनताको समान पहिचान र स्वामित्वसहितको स्वाधीन समृद्ध समानुपातिक समावेशी सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवाद निर्माणका लागि क्रियाशील रहनेछु,’ शपथ ग्रहणमा उल्लेख छ ।

खुला मैदानमा सामूहिक शपथग्रहणलगत्तै सेता र राता रंगका बेलुन आकाशमा उडाइएको थियो । गायक रामकृष्ण ढकाल, ब्ल्यु डाइमन्ड सोसाइटीलगायत विभिन्न समूहका कलाकारले गीत/नृत्य प्रस्तुत गरेका थिए । नयाँ शक्ति नेतृ करिश्मा मानन्धर र नेता पासाङ शेर्पाले पालैपालो उद्घोषण गरेको कार्यक्रममा नेताहरू रामचन्द्र झा, परशुराम तामाङले बोलेका थिए । राष्ट्रिय गीतहरू र नयाँ शक्तिको गीत नृत्य कार्यक्रमका बीच–बीचमा बजिरहे । समारोहको झाँकीलाई आयोजकले ड्रोन उडाएर तस्बिरमा कैद गरेका थिए । आयोजकले र्‍याली निकालेर ट्राफिक प्रभावित नगर्ने बताए पनि जुुलुसका क्रममा राजधानीका सडक छिटफुट प्रभावित बने ।

कान्तिपुर 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget