Websoft University

www.radiomakalu.com || 021-522512


सात प्रदेशमा ट्रमा सेन्टर विस्तार गर्ने योजना तुहियो


काठमाडौँ , जेष्ठ ३१ गते   ।    स्वास्थ्य मन्त्रालय आउनासाथ सातसातवटै प्रदेशमा ट्रमा सेन्टर विस्तार गर्ने भन्दै व्यापक प्रचारप्रसार गर्दै हिँडेका स्वास्थ्यमन्त्री रामजनम चौधरी त्यसमा असफल भएका छन्  । 



सवारी दुर्घटना र प्राकृतिक प्रकोपमा परी घाइते भएकाहरूलाई तत्काल आकस्मिक सेवा दिएर बचाउने भन्दै मुलुकका सातवटै प्रदेशमा ट्रमा सेन्टर विस्तार गर्ने मन्त्री चौधरीले बनाएको योजना तत्काल कार्यान्वयनमा नआउने भएको हो।


भएको ट्रमा सेन्टरबाट प्रभावकारी सेवा दिन नसकेको अवस्थामा मुलुकका अन्य स्थानमा ट्रमा सेन्टर विस्तार असम्भव भएको मन्त्रालयका अधिकारीले नै बताउँदै आए पनि मन्त्री चौधरीले सातवटै प्रदेशमा ट्रमा सेन्टर विस्तार गरेरै छोड्ने भाषणबाजी गर्दै हिँडेका थिए।

उक्त कार्यक्रमलाई अर्थ मन्त्रालयले अस्वीकार गर्दै बजेटमा नपारेपछि पछिल्लो समय उनी आफैंले विशेष कारणले ट्रमा सेन्टर विस्तार गर्न नसकेको प्रतिक्रिया दिन थालेका छन्। 'स्वास्थ्यमन्त्री भएदेखि नै ठूला राजमार्गको आसपासमा ट्रमा सेन्टर खोल्नुपर्ने आवश्यकता देखेको थिए र त्यसअनुसारको गृहकार्य पनि भएको थियो तर विशेष कारणबस तत्काललाई ट्रमा सेन्टर विस्तार गर्न नसकिने भयो', राजधानीमा आयोजित चिकित्सकको कार्यक्रममा मन्त्री चौधरीले भने, 'ट्रमा सेन्टर खोलेर मात्र पनि नहुने रहेछ।

त्यसअनुसारको हरेक प्रकारको विशेषज्ञ सेवा दिने चिकित्सक, भौतिक पूर्वाधार र उपकरणको व्यवस्था पनि गर्न सक्नुपर्ने रहेछ। तत्काललाई त्यो सम्भव देखिएन।' गत वर्ष राजमार्गमा ट्रमा सेन्टर सञ्चालनमा ल्याउने तयारी मन्त्रालयले गरे पनि बजेट अभावमा रोकिएको थियो।

मन्त्रालयले यसअघि मुलुकबाहिर पहिलोपटक चितवनको भरतपुर अस्पतालमा मदन भण्डारी ट्रमा सेन्टर र बागलुङको धौलागिरि अञ्चल अस्पतालमा हरि खड्का ट्रमा सेन्टर सञ्चालनका लागि तीन करोड रुपैयाँ पठाइसकेको छ। यी दुवै ट्रमा सेन्टर सञ्चालनमा आउने तयारीमा छन्।

'ती स्थानमा घाइतेको जीवन बचाउनका लागि साधारण किसिमका सेवा चौबीसै घन्टा होस्, चिकित्सकको उपस्थिति निरन्तर भइरहोस् र गम्भीर प्रकृतिका बिरामीलाई तत्कालै सहज रूपमा एम्बुलेन्सको माध्यमबाट सुविधासम्पन्न अस्पताल वा काठमाडौंका राष्ट्रिय ट्रमा सेन्टरमा ल्याउन सकियोस् भन्ने उद्देश्यका साथ हामीले राजमार्गमा ट्रमा सेन्टर खोल्ने योजना बनाएका थियौं', उनले भने, 'यसले पक्कै पनि धेरैलाई राहत पुर्याउने विश्वास थियो तर तत्काल काम नहुने भयो।'

तत्कालै गर्न नसकिने काममा योजना बनाएको भन्दै प्रचारप्रसार गरेर जनतालाई आश्वासन मात्रै दिने गरेको भन्दै मन्त्री चौधरीको आलोचनासमेत भएको छ। दक्षिणएसियामै नमुना बनाउने उद्देश्यले निर्माण गरिएको केन्द्रको राष्ट्रिय ट्रमा सेन्टर सञ्चालनमा आएको वर्ष दिन पुगिसक्दा पनि यो केन्द्रबाट सोचेअनुसारको सेवा नपाउँदा बिरामी निराशा प्रकट गरिरहेका छन्।

भएको स्रोतसाधनलाई सही तरिकाले प्रयोग गर्ने सक्षम नेतृत्वको अभाव र कर्मचारीमा इच्छाशक्तिको अभावका कारणले नमुना बनाउने भनिएको सेन्टर बिस्तारै खोक्रो हुँदैछ। मन्त्री चौधरीले आफैंले पनि अहिलेको ट्रमा सेन्टरमा प्रभावकारी सेवा दिन अझै नसकिएको बताउन थालेका छन्।

नजिकै रहेको यो सेन्टरको अनुगमनमा उनको ध्यान पुग्नसकेको छैन। सेन्टरले हालसम्म करिब ३० हजारको उपचार गरिसकेको बताए पनि अधिकांश हाडजोर्नीसँग सम्बन्धित बिरामी छन्।

सरकारी स्तरमा सेवा राम्रो नहुँदा दुर्घटना वा प्रकोपमा घाइते भएकाहरू निजी अस्पतालको चर्को शुल्कमा उपचार गराउने गरेका छन्। सडक दुर्घटना वा प्राकृतिक प्रकोपमा परी घाइते भएकाहरूलाई उपचारका लागि जथाभाबी रूपमा अस्पतालमा लग्ने गरिएको छ।

धेरैको काठमाडौं ल्याउने क्रममा बाटोमा समेत ज्यान जाने गरेको छ। उपयुक्त स्वास्थ्य संस्थाको अभावमा समयमै उपचार नहुँदा सवारी दुर्घटनाका सयौं घाइते अंगभंग हुने गरेका छन्।-

अन्नपुर्ण पोस्ट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget