Websoft University

www.radiomakalu.com || 021-522512


यी हुन् क्रोएसियाली सफलताको प्रेरणास्रोत

यी हुन् क्रोएसियाली सफलताको प्रेरणास्रोत

मस्को , युरोपेली राष्ट्र क्रोएसिया रुसमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा पुगेको छ। पहिलो पटक फाइनलमा पुगेको पूर्वी युरोपेली मुलुकले आइतबार राति उपाधिका लागि पूर्वविजेता फ्रान्सको सामना गर्दैछ। पूर्वविजेता इङ्ल्यान्डलाई २–१ गोलले स्तब्ध बनाउँदै फाइनलमा पुगेको क्रोएसियाको सफलतामा खेलाडीको मेहनत र प्रशिक्षक ज्लाट्को डालिचको रणनीति मात्रै कारक छैन। क्रोएसियाको सफलतामा अर्का एक व्यक्तिको पनि अहम् भूमिका रहेको छ। ती हुन्, राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिच।

विश्वकप फुटबल हेर्न र आफ्नो टोलीको हौसला बढाउन राष्ट्रपति कितारोभिच अहिले रुसमा छिन्। विभिन्न देशका उच्च पदस्थ अधिकारी तामझामका साथ रुस पुगिरहेका बेला क्रोएसियाली राष्ट्रपति कितारोभिच भने सामान्य रूपमा रुस पुगेकी थिइन्। अति विशिष्ट अधिकारीले बिजनेस क्लासमा यात्रा गर्ने प्रचलन रहे पनि कितारोभिच इकोनोमी क्लासमा समर्थकसँगै रमाइलो यात्रा गरेर रुस पुगेकी हुन्। उनले प्लेनमै आफ्नो टोलीको समर्थनमा हुटिङसमेत गरेकी थिइन्।

क्वार्टरफाइनलमा आयोजक रुसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसियाले सेमिफाइनलमा स्थान बनाउँदा राष्ट्रपति कितारोभिचले रुसका प्रधानमन्त्री दिमित्री मेदभेदेभसँगै बसेर खेल हेरेकी थिइन्। आफ्नो टोलीले सफलता हात पारेसँगै उनले भीभीआईपी क्याबिनमा बसेरै खुसीयाली मनाइन्। टोलीको सफलतामा खुसी मनाउने र उत्तेजित हुने उनको शैलीले पनि अहिले संसारका धेरै फुटबलप्रेमी क्रोएसियाको प्रशंसक बनेका छन्।

खेल सकिएपछि राष्ट्रपति कितारोभिच खेलाडीको हौसला बढाउन ड्रेसिङ रुममै पुगेकी थिइन्। उनले त्यहाँ हरेक खेलाडीलाई अंकमाल गर्दै आगामी खेलमा अझ उत्कृष्ट प्रदर्शन गर्न शुभकामनासमेत दिइन्। ५० वर्षीया कितारोभिच क्रोएसियाकी चौथो राष्ट्रपति हुन्। उनी सन् २०१५ मा राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। उनी क्रोएसिया र पूर्वी युरोपकी पहिलो महिला राष्ट्रपति हुन्।

राष्ट्रपतिमा निर्वाचित हुनुअघि कितारोभिचले विभिन्न मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेकी थिइन्। उनले नाटोमा सहायक महासचिवको जिम्मेवारी पनि सम्हालेकी थिइन्। यसका अतिरिक्त कितारोभिच धेरै भाषामा दक्खल राख्छिन्। उनी क्रोएसियनका अलवा इङ्लिस, स्पेनिस, पोर्चुगिज, फ्रेन्च, जर्मन र इटालियन भाषामा पनि पोख्त छिन्।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget