Websoft University

www.radiomakalu.com || 021-522512


उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण अस्वीकार्य


उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण अस्वीकार्य

जापानी प्रधानमन्त्री सिन्जो आवे बेलायती समकक्षी थेरेसा मेसँग । तस्बिर : एपी/रासस

जापानी प्रधानमन्त्री सिन्जो आबेले उत्तरी कोरियाले हालै गरेको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण पूर्णरूपमा अस्वीकार्य भएको बताएका छन् । लन्डन भ्रमणमा रहेका आबेले उत्तर कोरिया एक गम्भीर खतरा भएको बताएका छन् ।अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले प्योङयाङविरुद्ध कडा कदम चाल्नुपर्ने बताएको केही समयपछि नै उत्तर कोरियाले पुन:एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । उत्तर कोरियाको उक्त परीक्षण सफल भने हुन सकेन ।
यसअघि यसै महिनामा उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण पनि विफल भएको थियो । यसप्रकार बारम्बार गर्ने क्षेप्यास्त्र परीक्षण जापानका लागि पनि खतरा भएको आबेको धारणा थियो । उत्तर कोरियाको यस प्रकारको कार्यबाट विश्वको शान्ति र स्थायित्वमा नै गम्भीर संकट आउने उनले बताए । आफ्नो देशलाई दिएको यस चुनौतीलाई पूर्णरूपमा अस्वीकार गर्ने र यस्ता कार्यको कडा निन्दा गर्ने उनले बताएका छन् । प्योङयाङबाट उत्तरमा पर्ने प्याङगान प्रान्तको दक्षिणी क्षेत्रमा स्थानीय समयानुसार गत शनिबार बिहान ५:३० मा गरेको यो ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरिएको थियो । यसअघि नै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि उत्तर कोरियाले बारम्बार गरेको परमाणु र क्षेप्यास्त्र परीक्षणले एउटा ठूलो द्वन्द्व निम्त्याउने चेतावनी दिँदै आएका छन् । कूटनीतिक माध्यमबाट उत्तर कोरियाको विवादको समाधान गर्न खोजेको तर त्यसप्रकार समस्या समाधान खोज्नु अत्यन्त कठिन भएको पनि ट्रम्पको कथन थियो ।
 जतिखेर पनि परमाणु परीक्षण गर्ने प्योङयाङको धम्की
सोल उत्तर कोरियाले सोमबार आफूले 'जतिखेर जहाँसुकै' परमाणु परीक्षण गर्ने आफ्नो अधिकार भएको बताएको छ । अमेरिका र दक्षिण कोरियाले प्योङयाङले छिटै लामो दूरीको क्षेप्यास्त्र परीक्षण गर्ने तयारी गरिरहेको दाबी गर्दै आएका बेला उसको यस्तो भनाइ आएको हो ।केही सातादेखि कोरियाली प्रायद्वीपमा तनाव सिर्जना भइरहेको छ । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरिरहेका छन् भने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्योङयाङमा सत्ता पलट गर्न सकिने चेतावनी समेत दिइसकेका छन् । अमेरिकी युद्धपोतहरू जापान र कोरियाली क्षेत्रमा तैनाथ गरिएका छन् । उत्तरले भने पनि आफ्ना परीक्षण धमाधम गरिरहेको छ ।


उत्तर कोरियाली विदेश मन्त्रालयका एक प्रवक्ताले आफूहरूमाथि अमेरिकाले कुनै कारबाही सुरु गरे त्यसको जवाफ दिन पूर्ण तयार भएको स्पष्ट पारेका छन् । उत्तर कोरियाको सरकारी सञ्चार समिति केसीएनएले यस्ता परीक्षण जारी गर्नु प्योङयाङको अधिकार भएको जनाएको छ । अमेरिकाले उत्तर कोरियासँग वैमनस्य राख्दासम्म प्योङयाङले आफ्नो परमाणु क्षमता वृद्धि गरिरहने पनि ती प्रवक्ताको भनाइ थियो । उत्तर कोरियाले केही समयदेखि लगातार परमाणु परीक्षण गर्दै आएको छ । उसले अमेरिकासम्म मार हान्न सक्ने लामो दूरीको क्षेप्यास्त्र विकास गरिरहेको अमेरिकी आशंका छ ।
चीनको पनि दबाब : ट्रम्प
वासिङटन : चिनियाँ राष्ट्रपति सी जिन पिङले उत्तर कोरियाले गरिरहेका आणविक कार्यक्रम रोक्न प्योङयाङमाथि दबाब दिइरहेको अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् । 'यदि उत्तर कोरियाले थप आणविक परीक्षण गर्यो भने यसले हामीलाई खुशी पक्कै पनि पार्ने छैन', ट्रम्पले भने । उनी उत्तर कोरियाको आणविक हतियारप्रतिको मोहविरुद्ध सीबीएस टेलिभिजन नेटवर्कको 'फेस द नेसन कार्यक्रम' मा बोल्दै थिए । उनले भने, 'त्यसैगरी मलाई के पनि विश्वास छ भने विश्वमा नै सम्मानित चिनियाँ राष्ट्रपति सी पनि उत्तर कोरियाका यस्ता कार्यक्रमबाट खुशी हुनुहुन्न ।'
उत्तर कोरियासँगको असन्तुष्ट भएकाले 'सैनिक कारबाही' गर्ने सम्भावना छ त भन्ने प्रश्नमा ट्रम्पले परिस्थिति हेरेर निर्णय गरिने बताए । 'अहिले यस विषयमा यसै भन्न सकिन्न । आगामी गतिविधि हेरेर निर्णय आउँछ', ट्रम्पले भने । हतियारविरोधी गतिविधि निरुत्साहित गर्न प्योङयाङमाथि अन्तर्राष्ट्रिय नाकाबन्दीको चर्चा भइरहेको छ । उत्तरका गतिविधिबाट अमेरिकालगायत युरोपेली मुलुक थप चिढिएका छन् ।-एजेन्सी


Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget