Websoft University

www.radiomakalu.com || 021-522512


मिलेर अघि बढ्नुस् : राष्ट्रपति


मिलेर अघि बढ्नुस् :  राष्ट्रपति
काठमाडौं,  वैशाख २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक गतिरोध अन्त्य गरी संविधान कार्यान्वयनतर्फ लाग्न राजनीतिक दललाई सुझाव दिनुभएको छ । शुक्रबारदेखि प्रारम्भ हुन लागेको आफ्नो श्रीलंका भ्रमणबारे परामर्शक्रममा राष्ट्रपतिले बिहीबार शीतलनिवासमा प्रमुख राजनीतिक दलका नेताहरूलाई छिटोभन्दा छिटो गत्यावरोध अन्त्य गर्न सुझाउनुभएको हो ।
राजनीतिक गत्यावरोध मुलुकका लागि अभिशाप भएकोतर्फ ध्यानाकर्षण गराउँदै उहाँले मिलेर अघि बढ्न दलहरूलाई आग्रह गर्नुभयो । ‘अहिलेको अवस्थामा मिलेर जानुको विकल्प छैन । राष्ट्र र जनताको जिम्मेवारीप्रति तपाईंहरूको कर्तव्य पनि छ', राष्ट्रपतिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘संविधानमा उल्लेख भएअनुसार तीनै तहको निर्वाचन समयमै सम्पन्न गर्न दलहरूबीच सहमति र सहकार्यको निरन्तरता अपरिहार्य छ ।'
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल निकै गम्भीर रूपमा प्रस्तुत हुनुभएको थियो । मुलुकको समस्या समाधान गर्न भगीरथ प्रयास गरिरहेको उहाँले बताउनुभयो । ‘मुलुक जटिल र संकटपूर्ण अवस्थातर्फ गइरहेको छ । समस्या समाधानको एउटा महत्ववपूर्ण कामका रूपमा मैले स्थानीय निर्वाचनलाई लिएको छु', उहाँले भन्नुभयो, ‘निर्वाचनमा असन्तुष्ट पक्षलाई समेट्न भगीरथ प्रयास गरिरहेको छु । त्यसैक्रममा संविधान संशोधन प्रस्तावलाई उच्च प्राथमिकता दिएको छु ।'
स्रोतका अनुसार आगामी जेठ ४ गते बस्ने व्यवस्थापिका संसद्को बैठकमार्फत संविधान संशोधन विधेयक अनुमोदन गर्न गृहकार्य गरिरहेको प्रधानमन्त्रीले बताउनुभएको थियो । दोस्रो चरणको चुनावअघि नै संविधान संशोधन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले आफ्नो दल मिलेर जान तयार रहेको बताउनुभएको थियो । ‘मुलुकको संकटलाई निकास दिन एमाले संविधान संशोधन गरेर जान पनि तयार छ', उहाँले भन्नुभयो । नेम्बाङको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘एमालेले संविधान संशोधनमा लचकता अपनाउँछ तर संशोधन किन र केका लागि भन्ने आमजनताबीच स्पष्ट गराउने दायित्व सरकारले लिनुपर्छ ।'

Yamaha
राष्ट्रपति भण्डारीले आसन्न श्रीलंका भ्रमण र वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिका सन्दर्भमा छलफल गर्न दलका नेताहरूलाई बोलाउनुभएको थियो । भण्डारीले भ्रमणबारे दलका शीर्ष नेतालाई जानकारी गराउनुभएको उहाँका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री दाहाल, कांग्रेसका सभापति देरबहादुर देउवा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदार सहभागी हुनुहुन्थ्यो ।
संशोधनलाई बेवास्ता नगरियोस् : मोर्चा
फोरम नेपालका अध्यक्ष यादवले दोस्रो चरणको चुनावअघि नै परिमार्जनसहित संविधान संशोधन पारित हुनुपर्ने बताउनुभएको छ । मधेसी, आदिवासी जनजातिलगायत उत्पीडित समुदायको अधिकार सम्बोधनका लागि भन्दै यादवले मतदाता नामावली थप्न समय दिनुपर्ने, पहिलो र दोस्रो चरणको मतगणना र मतपरिणाम एकैपटक हुनुपर्नेलगायत सातबुँदे प्रस्तावसमेत बैठकमा राख्नुभएको थियो ।
चुनावमा सेना परिचालन गर्न नहुने, मधेस आन्दोलनमा पक्राउ परेका नेता र कार्यकर्ताको रिहाइ एवं मुद्दा खारेज हुनुपर्ने, मधेसमा गाउँपालिका-नगरपालिकाको संख्या जनसंख्याको अनुपातमा वृद्धि गर्नुपर्ने र स्थानीय चुनावपछि मात्र बजेट ल्याउनुपर्ने प्रस्ताव उहाँले राख्नुभएको हो । बैठकमा लिखित प्रस्ताव राख्दै यादवले भन्नुभयो, ‘संविधान संशोधनलाई बेवास्ता गरिए मधेसमा दोस्रो चरणको चुनाव सहज रूपमा सम्पन्न हुन सक्दैन ।' विभेद र निषेधको राजनीति अन्त्य भएको सन्देशका रूपमा संविधान संशोधन हुनुपर्ने उहाँको माग छ । ‘तपाईं-हाम्रो नीति निर्णय कुनै क्षेत्र, वर्ग र समुदायका लागि निषेध नहोस्', उहाँले भन्नुभयो, ‘मधेस पनि यही देशको हिस्सा हो र मधेसीहरू यसै राष्ट्रका सच्चा नागरिक हुन् भन्ने हेक्का होस् ।'- अन्नपूर्ण बाट ,  चिरञ्जीवी ढुंगाना

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget