
सफा र टल्कने दाँत कसलाई मन नपर्ला ? यस्तो दाँतले मानिसको व्यक्तित्वमा नै निखार ल्याउँछ । सेलिब्रेटीहरुले आफ्नो दाँत चम्काउनका लागि महंगा ब्रान्डका सामग्री र कस्मेटिक उपचार अपनाउँछन् । तर सर्वसाधारणले यसो गर्न सक्दैनन् । तर धन्दा मान्नुपर्दैन । घरमै भएका मामुली बस्तुहरुको प्रयोगबाट पनि दाँत चम्काउन सकिन्छ ।बेलायतका सेलिबि्रटी डेन्टिस्ट रिचार्ड मक्र्युसले दिएका सुझावलाई प्रयोग गरि हेरौं न त ।
१. बेकिङ सोडा प्रयोग गर्नुस्
बेकिङ सोडा दाँत चम्काउने प्राकृतिक वस्तु हो, जुन धेरै टुथपेस्टहरुमा प्रयोग भएको हुन्छ । एक चौथाई चियाचम्चा बेकिङ सोडालाई पानीमा मिलाउनुस र ब्रसको सहायताले दाँतमा रगड्नुस । अथवा, बेकिङ सोडालाई सोझै टुथपेस्टमा राख्नुस । केही समयमा नै तपाईंको दाँत सेतो देखिन थाल्नेछ ।
२. स्ट्रबेरी खानुस्
स्ट्रवेरीमा मेलिक एसिड नामक तत्व रहेको हुन्छ, जुन प्राकृतिकरुपमा दाँत चम्काउन सहयोगी हुन्छ ।
३. नून-पानीले कुल्ला गर्नुस्
नूनपानीले पनि प्राकृतिकरुपमा तपाईंको दाँत सेतो बनाउन मद्दत गर्छ र गिजाको पनि स्याहार गर्छ । यो प्राकृतिक एन्टिबायोटिक हो । एक कप तातो पानीमा एक चियाचम्चा नून हाल्नुस् र यसलाई माउथवासको रुपमा प्रयोग गर्नुस् ।
४. सेतो खानेकुरा खानुस्
तपाईं जति सेतो खानेकुरा खानुहुन्छ त्यति नै तपाईंको दाँत सेतो हुँदै जान्छ । चिकेन, भात र माछा खाने गर्नुस् । चुकन्दर, ऐंसेलु, गाजरजस्ता कलिरिङयुक्त खानेकुराबाट टाढा रहनुस् ।
५. स्याउ खानुस्
मेलिक एसिड अन्तरनिहित हुने भएकाले स्याउको सेवनले पनि दाँतलाई सेतो बनाउन मद्दत पुग्छ ।
६. पानी र दुध पिउनुस्
कागतीपानी पिउनाले दाँतलाई फाइदा पुग्छ । यसैगरी रेड वाइनभन्दा ह्वाइट वाइन दाँतका लागि हीतकर हुन्छ । दुधमा हुने क्याल्सियमले पनि दाँत तथा गिजालाई बलियो र सफा बनाउन मद्दत गर्छ ।
७. चिज खानुस्
दाँतलाई बलियो र सफा बनाउन सहयोग गर्ने अर्को प्राकृतिक वस्तु हो, चिज । विशेषगरी कडा चिजमा क्याल्सियम हुने भएकाले दाँतलाई फाइदा पुग्छ ।
८. नरिवलको तेल प्रयोग गर्नुस्
एक चम्चा नरिवलको तेल मुखमा हालेर सकेसम्म धेरै बेर कुला गर्नुस् । यो जति लामो समय गर्नुभयो त्यति फाइदा मिल्छ । त्यसैले कम्तिमा १५ मिनेट मुखमा राख्ने कोशिस गर्नुस् । यस्तो अभ्यासले दाँतमा रहेका ब्याक्टेरियालाई हटाउने र दाँतलाई चिल्लो बनाएर यसमा रहेका दागहरु पनि सफा गर्छ ।
Post a Comment