Websoft University

www.radiomakalu.com || 021-522512


पशुपति शमशेर–भारतीय राजदूत भेटको साइट इफेक्ट : दुई राप्रपाबीचको पार्टी एकता भाँडिने खतरा



काठमाडौं,साउन २४ गते । मंगलबारको लागि तय भएको दुई राप्रपाबीचको पार्टी एकता घोषणासभा अन्योलमा परेको छ । पूर्वसहमतिविपरित राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले एकताका लागि सक्रियता देखाउनुको साटो ‘प्राविधिक’ कारण देखाउँदै पार्टी एकता घोषणासभा केहि पर सार्नका लागि राप्रपा नेपालका अध्यक्ष कमल थापालाई आग्रह गरेका छन् ।



राप्रपा निकट उच्च स्रोतका अनुसार सोमबार बिहान राप्रपा अध्यक्ष राणाले थापालाई फोन गरी एकता प्रक्रिया पर सार्नका लागि आग्रह गरेका थिए ।

राणाले एकता घोषणाका लागि पर्याप्त तयारी नभएको भन्दै सम्पूर्ण तयारी भएपछि मात्रै एकता गर्ने प्रस्ताव थापासँग राखेका थिए ।
जवाफमा थापाले भने सबै तयारी भइसकेको अवस्थामा एकता रोकिन नहुने धारणा राखेका थिए । पार्टी एकता घोषण सभा मंगलबार राजधानीको राष्ट्रिय सभागृहमा गर्ने तयारी गरिएको थियो ।

राप्रपाका सह प्रवक्ता किरण गिरीले मंगलबार एकता घोषणा सभाको तयारी भएको भएपनि अध्यक्षले प्राविधिक तयारी पूरा नभएसम्मका लागि घोषणासभा रोक्न प्रस्ताव गरेको रातोपाटीलाई जानकारी दिए । ‘ भोलिको एकता घोषणा सभा रोकिन सक्छ’, उनले भने, ‘ अध्यक्षले प्राविधिक कारणले एकता हुन नसक्ने राप्रपा नेपाललाई खबर पठाएको सुन्न आएको छ, यो पार्टीले आधिकारिक रुपमा निर्णय भएको भने होइन ।’

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता घोषणा गर्ने भनिएपनि अन्तरिम विधान निर्माण प्रक्रिया अगाडि बढ्न सकेको थिएन । एकीकरणपछि दुवै पार्टीका शीर्ष नेता, पदाधिकारी तथा दुवै पार्टी निकट जनवर्गीय सङ्गठनका साथै कार्यकर्तालाई व्यवस्थापन गर्न नयाँ विधानको आवश्यकता रहन्छ ।

त्यसैगरी दुवै पार्टीबीच भएको दार्शनिक भिन्नतालाई सन्तुलनमा ल्याउनका लागि दुवै पार्टीका विधानका केही धारा तथा नियमलाई निलम्बन गर्नुपर्ने हुन्छ । राप्रपाले गणतन्त्र र सङ्घीयतालाई स्वीकारेको छ भने राप्रपा नेपालले हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रलाई मूलाधारका रुपमा स्विकारेको छ ।

राप्रपाका सह प्रवक्ता गिरीले आजै राप्रपाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारमा पार्टीबाट दीपक बोहरालाई मन्त्रीको लागि सिफारिस गर्ने तयारी समेत गरेको जानकारी दिए । जवकी राप्रपा र राप्रपा नेपालकाबीच एकता घोषणापछि बस्ने संयुक्त कार्यसम्पादन समितिको बैठकबाट मात्रै पार्टी सरकारमा सहभागि हुने या नहुने भन्ने विषयमा निर्णय लिइने सहमति भएको थियो ।

राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले राप्रपाले एकता घोषणासभा स्थगित गर्न प्रस्ताव गरेको खबर आफूले थाहा पाएको भन्दै यो निकै दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् । उनले दुई राप्रपाको एकता कार्यकर्ताको चाहना भएकाले आफूहरुले ठूलो त्यागका साथ अघि बढाएको र अन्तिममा आएर यसरी एकता घोषणा सभा सार्न प्रस्ताव गरिनु दुखदायी भएको बताए । उनले राप्रपाले अन्तिममा धोका दिन खोजेको भन्दै यसकै कारण अब एकता प्रक्रिया भाँडिन सक्ने समेत बताए ।

स्रोतका अनुसार राप्रपा अध्यक्ष पहिले एकताका लागि तयार भएपनि भारतीय राजदूत रञ्जित रेसँगको भेटपछि उनी एकाएक बदलिएर एकता घोषणासभा सार्न लागिपरेका हुन् ।

आइतबार राती राणाको निवासमा भएको भेटमा भारतीय राजदूतले एकता नगर्न सुझाएको र सोहि अनुसार राणाले एकता प्रक्रिया सार्नका लागि थापालाई आग्रह गरेको स्रोतको दाबी छ ।

राप्रपाभित्र राणा र स्वर्गिय सूर्यबहादुर थापा पूत्र सुनिल थापालाई भारत निकट रहेको आरोप लाग्ने गरेको छ ।

दुई दिन अघि भएको राणा र थापाबीचको बैठकबाट मंगलबार पार्टी एकता घोषणा गर्ने सहमति बनेको थियो । भने सो अवसरमा राणा तथा तथा थापाले एकतासम्बन्धी सहमतिपत्रमा दहस्ताक्षर समेत गरेका थिए ।
व्यवस्थापिका–संसद्मा राप्रपा नेपाल चौथो ठूलो दल हो भने उसका पार्टीकातर्फबाट २५ सांसद रहेका छन् यस्तै राप्रपा सातौँ ठूलो दल हो र पार्टीका तर्फबाट उसको १२ सांसद छन् ।- रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget