Websoft University

www.radiomakalu.com || 021-522512


बुधबार नयाँ प्रधानमन्त्री चयन हुने

काठमाडौँ, साउन १८ गते । मुलुकको ३९औँ प्रधानमन्त्रीको निर्वाचन आगामी बुधबार हुने भएको छ । व्यवस्थापिका संसद्ले साउन १९ गते बिहान ११ बजेका लागि प्रधानमन्त्री निर्वाचन कार्यतालिका सोमबार सार्वजनिक गरेको छ ।
सभामुख ओनसरी घर्तीको निर्देशनमा संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गर्नुभएको हो । सूचना अनुसार १८ गते मङ्गलबार बिहान ११ बजेदेखि ४ बजेसम्म प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गर्ने समय तय गरिएको छ । सोही दिन ४.३० बजे उम्मेदवारको अन्तिम सूची प्रकाशित हुनेछ ।
मङ्गलबार उम्मेदवारी दर्ता गराउनेले एक जना समर्थक र एक जना प्रस्तावकसहितको उम्मेदवारीको सूचना साँझ ४ बजेसम्म दर्ता गराइसक्नुपर्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधानको धारा २९८ (२) अनुसार एक साताको समय दिएर साउन १० गते सहमतीय सरकारको आह्वान गर्नुभए पनि दलबीच सहमति हुन नसक्दा बहुमतीय प्रक्रिया अघि बढेको हो ।
राष्ट्रपति भण्डारीले सोमबार बहुमतीय आधारमा प्रधानमन्त्रीको चयन गर्न संविधानको धारा २९८ (३) अनुसार आह्वान गर्नुभएको छ । सोही आह्वान अनुसार संसद् नियमावली २०७३ को नियम ४९
(२) अनुसार प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सोमबार सार्वजनिक गरिएको हो । यसअघि संसद् बैठकमा राष्ट्रपति कार्यालयको पत्र सभामुख घर्तीले पढेर सुनाउनुभएको थियो ।
प्रधानमन्त्रीमा अहिलेसम्म नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नयाँ गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रूपमा देखिनुभएको छ तर सत्तापक्षबाट अहिलेसम्म उम्मेदवार कसलाई बनाउने भन्ने तय भइसकेको छैन । अहिलेसम्म एमालेबाट सुवासचन्द्र नेम्वाङ, नेकपा (माले)बाट सीपी मैनाली, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नाम चर्चामा छ तर अहिलेको सत्ता गठबन्धनले उम्मेदवारबारे निर्णय भने गरिसकेको छैन ।
नयाँ प्रधानमन्त्री चयनका लागि संसद् बैठकमा नाम निर्णयार्थ पेस हुनुअघि उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र सबै उम्मेदवारलाई एकैसाथ निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका संसद् सचिवालयले बनाएको छ । उम्मेदवारको एक जना प्रस्तावक हुने भए पनि प्रधानमन्त्रीमा समर्थन गर्ने अन्य दलसमेत समर्थक हुने भएकाले एक जनाभन्दा बढी समर्थकलाई बैठकमा बोल्न दिने या नदिने भन्ने विषयमा सभामुखसँगको परामर्शमा सचिवालयले टुङ्गो लगाउने संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बताउनुभयो ।
कसको पक्षमा कति मत ?
संसद्मा अहिले ५९५ सांसद कायम रहनुभएको छ । प्रधानमन्त्री निर्वाचित हुन २९८ मत आवश्यक हुन्छ । यस अनुसार काँग्रेस–माओवादी गठबन्धनमा स्पष्ट बहुमत देखिएको छ । हालको सत्तापक्ष एमालेसहितको दलमा एमालेको १८२, राप्रपा नेपालको २५, नेकपा (माले)को ५, नेमकिपाको ४, राष्ट्रिय जनमोर्चाको ३, नेपाल परिवार दलको २, बहुजन शक्ति पार्टी १, मधेस समता पार्टीको १ गरी कुल २२३ मत छ ।
नयाँ गठबन्धन दल काँग्रेस, माओवादी, मधेसी मोर्चासहित साना दलसँग ३७२ सांसद छन् । संसद् नियमावलीमा तटस्थ बस्न नपाउने व्यवस्था भएकाले सबै सांसदले पक्ष वा विपक्षमा मतदान गर्नुपर्ने बाध्यता छ । संसद्मा रहेका ३१ दलसहित दुई स्वतन्त्र सांसद हुनुहुन्छ । स्वतन्त्र सांसद पनि नयाँ गठबन्धनमा उभिनुभएको छ ।
एमालेले मङ्गलबार निर्णय गर्ने
सत्तापक्षका तर्फबाट सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले)ले मङ्गलबार बिहानसम्म पार्टीको साझा उम्मेदवार तय गर्ने भएको छ । सोमबार साँझ अनौपचारिक छलफल गरेको एमालेले मङ्गलबार बिहान सत्तापक्षका अन्य दलका नेतासँग पनि छलफल गरेर साझा उम्मेदवार तय गर्ने एमाले प्रमुख सचेतक भानुभक्त ढकालले बताउनुभयो ।
हाम्रो उम्मेदवारलाई अहिले नै तय गरेर प्रचारका लागि लानुपर्ने केही छैन, त्यसैले हामी मङ्गलबार नै उम्मेदवार तय गर्ने निर्णय गरेका छौँ –प्रमुख सचेतक ढकालले जानकारी दिनुभयो । सम्भवतः एमालेबाटै प्रधानमन्त्रीको उम्मेदवार तय हुने उहाँले बताउनुभयो ।
सत्तारुढ दलमा प्रधानमन्त्रीको उम्मेदवारको योग्यता पुगेका अरू पनि हुनुहुन्छ तर एमालेबाटै उम्मेदवार तय गर्छौ ढकालले जानकारी दिनुभयो । एमालेबाट उपाध्यक्ष वामदेव गौतम र संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङमध्ये एकलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी छ तर उपाध्यक्ष गौतमले संसदीय दलको नेता दिएमात्र उम्मेदवार बन्ने सर्त राख्नुभएकाले उहाँको सम्भावना कम छ ।
उपाध्यक्ष गौतमको सर्त स्वीकार नभए पूर्व सभामुख नेम्वाङले नै सत्तापक्षबाट प्रधानमन्त्रीको साझा उम्मेदवारका रूपमा मङ्गलबार उम्मेदवारी दिनुहुनेछ । सत्तापक्षकै अन्य दलबाट नेकपा (माले)बाट सीपी मैनाली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नाम पनि चर्चामा छ तर पराजित हुनलाई अन्य दलबाट उम्मेदवार बनाउनुभन्दा आफ्नै दलबाट बनाउने एमालेको तयारी छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget