
काठमाडौं,साउन १३ गते । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु छनौटका लागि मापदण्ड बनाएको छ ।
बिहीबार बसेको माओवादी हेडक्वाटर केन्द्रको बैठकले मन्त्री छनौटका लागि मापदण्ड तय गरेको हो । मन्त्रीको आकांक्षी बढेपछि माओवादीले मापदण्ड बनाएको हो । यद्यपि, बैठकले तय गरेका मापदण्ड सार्वजनिक गरिएका छैनन् ।
पार्टी प्रवक्ता पम्फा भुसालले काम गर्न सक्ने क्षमता भएकाहरुलाई समानुपातिक र समावेशी प्रतिनिधित्व मिलाएर मन्त्री बनाउने निर्णय भएको तर, व्यक्तिका बारेमा भने टुंगोमा पुग्न बाँकी रहेको जानकारी दिइन् ।
नेकपा एमाले नेतृत्वका सरकारमा सहभागी भएकाहरु पनि नयाँ सरकारमा मन्त्री हुन इच्छुक देखिएपछि माओवादी केन्द्रमा मन्त्री छनौटको काम जटिल बनेेको छ । प्रवक्ता भुसालले मापदण्ड तय भइसकेकाले अब मन्त्री छनोट गर्न समस्या नहुने भन्दै फेरि बैठक बसेर मन्त्री बन्नेको नाम टुंगो लगाउने दाबी गरिन् ।
सचिवालयको बैठकमा सरकारको प्राथमिकताका विषयमा समेत छलफल भएको छ । भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण, संविधानमा व्यवस्था गरिएका स्थानीय, प्रदेश र संघीय तहको निर्वाचन, असन्तुष्ट पक्षका माग सम्बोधन, उर्जा संकट लगायतका विषयलाई नयाँ सरकारले प्राथमिकता दिने माओवादी केन्द्रको निर्णय छ ।-अनलाइनखबरबाट
Post a Comment